राजनीतिज्ञहरूले हेरे ‘परदेशी २’, भने, ‘चलचित्र सन्देशमूलक छ’



काठमाडौँ।
मन्त्री, सांसददेखि चलचित्रकर्मी, सङ्गीतकर्मी एवं विभिन्न क्षेत्रका व्यक्तिहरूले चलचित्र ‘परदेशी २’ हेरेका छन् । बुधवार साँझ नयाँ बानेश्वरस्थित आईएनआई सिनेमाजमा आयोजित विशेष शोमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती, एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री, राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतम, नेकपा एमालेका सांसद ठाकुर गैरेलगायतले चलचित्र हेरेका हुन् ।

चलचित्र हेरिसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री किराँतीले चलचित्रले मन छोएको बताए । ‘चलचित्र नेपाली समाज र नेपाली संस्कृतिको बेजोड प्रस्तुति भएको अनुभूति गरे’ उनले भने । उनले चलचित्र सन्देशमूलक रहेको भन्दै दर्शकलाई पनि हेर्न आग्रह समेत गरे ।

एकीकृत समाजवादीकी नेतृ झाँक्रीले आफूले देखेका कुरालाई नै चलचित्रले उठान गरेकाले आफूलाई छोएको बताइन् । ‘मलाई कथाले एकदमै छोयो । कथावस्तु, प्रस्तुति, अभिनय सबै राम्रो छ’ उनले भनिन् ‘चलचित्रमार्फत धेरै ठुलो सन्देश समेत दिनुभएको छ ।’ उनले चलचित्रको सिङ्गो टिमलाई बधाई एवं धन्यवाद समेत दिइन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद गौतमले चलचित्र अत्यन्तै राम्रो बनेको भन्दै खुसी लागेको बताइन् । ‘समग्रमा चलचित्र अत्यन्तै राम्रो बनेको रहेछ । यसले नेपाली समाजको विशेष गरी लोक संस्कृतिको पनि राम्रो जागरण गरेको रहेछ । मलाई अत्यन्तै धेरै खुसी लाग्यो’ – गौतमले भनिन् । उनले चलचित्र हेरिरहँदा खुसी खोज्ने चाहानाले बिदेसिएका आफ्ना साथीहरूलाई धेरै सम्झिएको समेत बताइन् । चलचित्र समाजको यथार्थ चित्रण भएको प्रतिक्रिया उनले दिइन् ।

एमालेका सांसद गैरेले चलचित्रले आमाबुवाको देशप्रतिको आशा के हो ? आफ्नो समाजप्रतिको अपेक्षा के हो ? बुवा आमाप्रति छोराछोरीको दायित्व के हो भन्ने कुरालाई चलचित्रले जीवन्त दङ्गले उजागर गरेको बताए । ‘बुवा आमा र सन्तानबिचको माया, विदेशमा बस्नेहरूले कस्तो जिन्दगी भोगिरहेका छन् भन्ने कुरालाई समेत चलचित्रले देखाएको छ’ उनले भने, ‘हाम्रो नेपाली समाज, संस्कृति, मूल्यमान्यतादेखि देश विकासको जनअपेक्षा समेत चलचित्रले बुलन्द गरेको छ ।’

निर्माता एवं निर्देशक अशोक शर्माले चलचित्रको कथा बलियो रहेको बताए । गायक शम्भु राईले चलचित्रले आफ्नो माटो, संस्कृति, संस्कार बोलेको भन्दै प्रशंसा गरे ।

विशेष शोमा निर्देशक नारायण रायमाझी, निर्माता राजेश वंशल, अभिनेत्री केकी अधिकारी लगायत चलचित्रको टिम उपस्थित थिए । निर्देशक रायमाझीले प्राप्त प्रतिक्रियाले एकदमै खुसी लागेको बताए । ‘चलचित्र समाजको दर्पण हो भनेर हामीले सधैँ भन्ने गरेका छौँ । यो हामीले बनाएको भन्दा पनि हाम्रो समाजको यथार्थ कथा हो । सम्पूर्ण टिमको संयुक्त प्रयासले चलचित्र राम्रो भएको हो’ रायमाझीले भने, ‘चलचित्रलाई मन पराउनुहुने सम्पूर्णलाई धन्यवाद भन्न चाहन्छौँ ।’ अभिनेत्री अधिकारीले यस पटक आफूलाई दुई वटा दसैँ आएको आभास भएको बताइन् ।

‘एउटा दसैँ त छँदै थियो । परदेशीले अर्को दसैँ पनि थपिदियो’ उनले भनिन् । निर्माता वंशलले दर्शकबाट पाएको माया आफूहरूको लागि सबैभन्दा ठुलो सम्पत्ति भएको बताए । माउथ पब्लिसिटी राम्रो भएका कारण चलचित्र अझै लामो समय जाने विश्वास उनले व्यक्त गरे ।

असोज २६ गतेबाट प्रदर्शनमा आएको चलचित्र शुक्रवारबाट चौथो सातामा प्रवेश गर्दै छ । चलचित्रमा प्रकाश सपूत, केकी अधिकारी, वर्षा सिवाकोटी, रमा थपलिया, प्रशान्त तामाङ, दिलीप रायमाझीलगायतको अभिनय छ ।

रमेश बिजीको कथा एवं पटकथा लेखन रहेको चलचित्रले विदेशमा समेत आफ्नो प्रदर्शन आरम्भ गर्दै छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu