‘भूठान’ बनाउँदै ‘बुलबुल’ निर्देशक पौडेल, हरिवंश प्रमुख भूमिकामा



काठमाडौँ।
पहिलो चलचित्रबाट नै राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरेका निर्देशक विनोद पौडेलले नयाँ चलचित्र बनाउने भएका छन् । आइतबार उनले पोस्टर र नाम सार्वजनिक गर्दै ‘भूठान’ शीर्षकमा चलचित्र घोषणा गरेका हुन् । यसको अङ्ग्रेजी नाम ‘द वर्ल्डस् ह्याप्पिएस्ट म्यान’ राखिएको छ । उनले सन् २०१९ रिलिज भएको पहिलो चलचित्र ‘बुलबुल’को लागि सर्वोत्कृष्ट निर्देशकको राष्ट्रिय चलचित्र पुरस्कार पाएका थिए ।

‘भूठान’मा अभिनेता द्वय हरिवंश आचार्य र दयाहाङ राई सहित जोयस पाण्डेय,अनुराधा मजुमदार, पूजा चन्द लामा, रिचा घिमिरे, अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदी, कौशिला खनाल कर्माचार्य लगायतले अभिनय गर्नेछन् । यस चलचित्रमा एक जना हलिउड कलाकारले पनि अभिनय गर्ने बताइएको छ ।

भुटानदेखि भारत, नेपाल हुँदै अहिले अमेरिकामा बसोबास गरिरहेका भुटानीहरूको देश प्रेम र जीवनयात्राको कथामा यो चलचित्र बन्न लागेको हो । यसको स्क्रिप्ट सन् २०१९ मा बुसान फिल्म फेस्टिभलको स्क्रिप्ट पिचिङ्गमा समेत छानिएको थियो । यसअघि यो चलचित्र भारतमा प्रसिद्ध कलाकारहरू नसिरुद्धिन शाह, आदिल हुसेन, अनुपम खेर सहित सङ्गीतकार ए.आर. रहमान, साउन्ड डिजाइनर विश्वदीप चटर्जी तथा चीन, अमेरिका र बेलायतका कलाकारहरूको समेत अभिनय रहने गरी बन्नको लागि तयारी गरिएको थियो । तर, भारतीय कलाकारहरूको हस्तक्षेप हुनसक्ने देखिएपछि बाटो मोडिएको थियो । यसमा अन्तर्राष्ट्रिय निर्माण कम्पनीहरूको पनि लगानी सहभागिता रहेका थिए तर अमेरिकामा भएको कलाकारहरूको हडताल लगायतका समस्याले गर्दा उनीहरू पनि बाहिरिएका थिए । अहिले मुख्य भूमिकामा हरिवंशसहित नेपाल, अमेरिका र भारत सहितको समूह मिलेर चलचित्रको पूर्व तयारीमा जुटेको हो ।

यस चलचित्रको प्रमुख निर्मातामा राजेन्द्र ठकुराठी,अमिताभ जोशी र चलचित्र बुलबुलकै निर्माता अविरल थापा रहनेछन् । साथै, कार्यकारी निर्मातामा एलएन अधिकारी र कौशिला खनाल कर्माचार्य छन् भने शैलेश मैनाली, दीपक दसनामी, मनोरथ खनाल, रविन पोख्रेल, प्रदीप शर्मा (बडाईं) ,राजु पौडेल, संजीवभार श्रेष्ठ, नवराज पराजुलीको सह-निर्माण रहनेछ । चलचित्रका निर्माता अविरल थापाले यो चलचित्र विश्व बजारको लागि बनाउन लागिएको र अन्तर्राष्ट्रिय चलचित्रको भिडमा अलग्गै पहिचान कायम गर्नेमा आफू विश्वस्त रहेको बताए ।

यस चलचित्रको सम्पूर्ण छायाङ्कन अमेरिकाको ओहायो राज्यमा हुनेछ भने यस चलचित्र नेपाली एवं अङ्ग्रेजी भाषामा निर्माण हुनेछ । चलचित्रको छायाङ्कन सन् २०२४ को अन्तसम्म सकेर सन् २०२५ मा प्रदर्शनमा आइसक्ने बताइएको छ ।

यसमा सुसन प्रजापतिको छायाङ्कन,अन्जय खड्काको सम्पादन, डिकेश खड्गी शाहीको ध्वनि, सूर्य शाहीको कास्टिङ्ग, उज्ज्वल श्रेष्ठको पब्लिसिटी डिजाइन, विमल सुवेदीको प्रोडक्सन डिजाइन, बलिउडका प्रख्यात कला निर्देशक अञ्जन गजुरेलको कला निर्देशन रहनेछ । किर्तना बाँस्कोटा, एलि वोहोरा, विशाल डोटेल, समुन्द्र राज घिमिरेले निर्देशनमा सहयोग गर्नेछन् ।

यस चलचित्रलाई अमेरिकाको म्याड मङ्की फिल्मसले निर्माण गर्ने छ । साथै अमेरिकाकै डग इयर्ड फिक्चर्स र नेपालको अवेकन प्रोडक्सनले सहकार्य गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu