चलचित्र ‘११:५५’ निर्माण घोषणा, महेश र सृष्टिको प्रमुख अभिनय



काठमाडौँ।
‘११:५५’ नामक नेपाली चलचित्र घोषणा भएको छ । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै महेश त्रिपाठी र सृष्टि श्रेष्ठको प्रमुख भूमिका रहने गरी चलचित्र घोषणा गरिएको छ । केशव पाण्डेको कथा र निर्देशनमा बन्ने यस चलचित्रमा सागर खनाल, करिश्मा श्रेष्ठ, विशाल पहारी, बुद्धि तामाङ, एमएस अग्रज लगायतको पनि अभिनय रहनेछ ।

एक दशकदेखिको चलचित्र सम्बन्धी अनुभवलाई सँगालेर कथा तयार गरेको निर्देशक पाण्डेले बताए । “यो चलचित्रमा कथा नै स्टार हो । यहाँ कलाकार भन्दा पनि पात्र देखिनेछन्”, पाण्डेले भने, “मैले चलचित्रलाई नजिकबाट हेरेर राम्रो दर्शक बनेको छु ।”

अभिनेता त्रिपाठीले आफूले नयाँ भूमिकामा अभिनय गर्न लागेको बताए । उनले भने, “मैले अहिलेसम्म आफूलाई प्रस्तुत गर्न नपाएको भूमिकाले आकर्षित गरेर सहकार्य सम्भव भएको हो । नयाँ टिम देखिएता पनि चलचित्र प्रतिको अध्ययन र अनुभवले हामी भित्र रहेको प्रतिभा पर्दामा देखिन्छ भन्नेमा विश्वस्त छु ।”

अभिनेत्री सृष्टि श्रेष्ठले कथाले नै आफूलाई आकर्षित गरेको बताइन् । “मैले कथा पढेपछि अगाडि के होला ? भनेर जिज्ञासु बन्थे । यो चलचित्रमार्फत हामी पात्रको रूपमा चिनिने छौँ । यो मेरो करिअरलाई अगाडि बढाउने चलचित्र बन्ने छ, भन्नेमा विश्वस्त छु”, उनले भनिन् । यसै चलचित्रमार्फत पर्दामा डेब्यु गर्न लागेका अभिनेता सागर खनालले चलचित्र सम्बन्धी गरेको अध्ययनलाई प्रयोग गर्ने अवसरलाई पूर्ण रूपमा सदुपयोग गर्ने बताए ।

क्राइम, थ्रिलर विधामा निर्माण हुने यस चलचित्रलाई निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीले पटकथा लेखेका छन् ।
विचित्र फिल्म्सको निर्माण तथा गुड जब आर्ट्सको सहकार्यमा निर्माण हुने चलचित्रमा श्याम शर्मा र सरोजा शर्मा निर्माता तथा जुनानाथ सापकोटा सह निर्माता रहेका छन् ।

यसमा प्रद्युम्न मिश्रको छायाङ्कन, पासाङ दावा शेर्पाको सम्पादन, अल्मोडा राना उप्रेती र कुशल आचार्यको सङ्गीत, कविराज गहतराजको नृत्य निर्देशन, देव महर्जनको द्वन्द्व निर्देशन, सायदको कार्कीको मुख्य सहायक निर्देशन र सुवासराज काफ्लेको प्रोडक्सन डिजाइन रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu