नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुँदै



काठमाडौँ।
‘सामूहिक अधिकार’ नारासहित मङ्सिर २३ गतेदेखि २६ सम्म नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ११औँ संस्करण हुने भएको छ । मानव अधिकार चलचित्र केन्द्रको आयोजनामा हुने महोत्सव चार दिनसम्म नेपाल पर्यटन बोर्ड र चाबहिलस्थित चलचित्र विकास बोर्डमा सञ्चालन हुनेछ ।

महोत्सवको उद्घाटन, लाइभ साङ्गीतिक कार्यक्रमसहित काठमाडौँको नेपाल पर्यटन बोर्डमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले गर्नेछन् । महोत्सवको उद्घाटन चलचित्रको रूपमा सुभांगी खड्काको वृत्तचित्र ‘द एज अफ लर्निङ’ प्रदर्शन गरिने बताइएको छ ।

विश्वभरिबाट खुल्ला आवेदनबाट सङ्कलन गरिएका डकुमेन्ट्री, सर्ट, एनिमेसन र फिक्सन गरी २६ देशका ५४ वटा चलचित्रहरू यस महोत्सवमा प्रदर्शन गरिनेछ । महोत्सवमा नेपाल लगायत फ्रान्स, स्पेन, बेलायत, अमेरिका, अस्ट्रेलिया, क्यानडा, ओमान, थाइल्यान्ड, म्यानमार, दक्षिण कोरिया, जर्मनी, इरान, टर्की, क्रोएसिया, इटली, अयारल्याण्ड, किर्गिस्तान, जर्जिया, पोल्यान्ड, ताजकिस्तान, नर्वे, युक्रेन, बङ्गलादेश र भारतबाट प्राप्त मानवअधिकारका विषयमा निर्मत चलचित्र तथा वृत्तचित्रहरू प्रदर्शन गरिनेछ ।

महोत्सवको जुरीमा बेलायतका माइकल ब्राउन, भारतकी अनुपमा बोस र नेपालकी पशुपति राई रहेका छन् । महोत्सवमा जुरीबाट छनौट भएका उत्कृष्ट पाँच चलचित्रहरूलाई अन्तर्राष्ट्रिय फिचर प्रतिस्पर्धा, अन्तर्राष्ट्रिय शर्ट फिक्सन तथा ननफिक्सन र नेपाली सर्ट फिक्सन तथा ननफिक्सन विधामा नगद सहित पुरस्कार प्रदान गरिने छ । त्यस्तै महोत्सवमा एक जना उत्कृष्ट नेपाली महिला निर्देशकलाई पनि पुरस्कृत गरिनेछ ।

महोत्सवमा चलचित्र प्रदर्शनसँगै चलचित्रकर्मी, दर्शक, विश्लेषक र मानव अधिकारकर्मी बिचको बहस हुनेछ । यसवर्ष महोत्सवमा ‘सिनेमा विकासको लागि राजनीतिक प्रतिबद्धता’ र ‘सामूहिक अधिकारः अन्तर्राष्ट्रिय प्रतिबद्धता, अभ्यास र राज्यको दायित्व’ विषयमा राजनीतिकर्मी, अधिकारकर्मी र चलचित्रकर्मीहरूबिच दुई ओटा प्यानल छलफल पनि राखिएको छ । साथै महोत्सव मानव अधिकारसँग सम्बन्धित फोटो प्रदर्शनी पनि हुनेछ । महोत्सवको समापन समारोहमा बेलायतको एल्हम एहसासको सर्ट फिल्म ‘एल्लो’ प्रदर्शन हुनेछ । समापन समारोह मङ्सिर २६ गते काठमाडौँको नेपाल पर्यटन बोर्डमा सम्पन्न हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu