हलिउड प्रोफेसनल एसोसिएसन अवार्डको निर्णायकमा नेपालका भरत



काठमाडौँ।
नेपाली चलचित्रका सम्पादक भरतमणि रेग्मीले ‘हलिउड प्रोफेसनल एसोसिएसन अवार्ड २०२३’मा निर्णायकको भूमिका निर्वाह गरेका छन् । गत नोभेम्बर २८ मा अमेरिकाको क्यालिफोर्नियास्थित लसएन्जल्समा सम्पन्न अवार्डमा उनी सम्पादन विधामा निर्णायक बनेका हुन् ।

भर्चुअल रूपमा नै संसारभरका निर्णायकहरूले चलचित्रहरू हेरी नतिजा आयोजकलाई उपलब्ध गराएका थिए । वार्षिक रूपमा आयोजना हुने अवार्डमा थिएट्रिकल र नन थिएट्रिकल अन्तर्गत विशेषतः प्राविधिक विधामा अवार्ड प्रदान गरिन्छ । जसमा कलर ग्रेडिङ, सम्पादन, ध्वनि, भिजुअल इफेक्टहरू पर्छन् र हरेक वर्ष उच्च श्रेणीका क्रियटिभ प्राविधिकहरूलाई अवार्ड दिइन्छ । भरत नन थिएट्रिकल फिचर र डकुमेन्ट्री अन्तर्गतको आउस्टेण्डिङ इडिटिङ विधाको निर्णायक थिए ।

आयोजकले आफूलाई जुरीका लागि सम्पर्क गरेको भरतले बताए । “मेरो प्रोजेक्ट, डकुमेन्टेसन सेलेक्सन पछि यो अवसर पाएँ । हामी जुरीले सहभागी सबै फिल्म हेरेर रिभ्युको सबै प्रक्रिया पुरा गरेर पठाएका थियौँ । जुरीहरूको सबै रिभ्यु सङ्कलन पस्चात आयोजकले अवार्ड प्रदान गरेका थिए”, उनले बताए ।

यस वर्ष ‘उत्कृष्ट सम्पादन डकुमेन्ट्री’ अन्तर्गत डकुमेन्ट्री ‘मोनाग डेड्रिम’ का लागि निर्देशक तथा सम्पादक ‘ब्रेट मोर्गन’ ले अवार्ड पाए । ‘उत्कृष्ट सम्पादन नन–थिएट्रिकल अन्डर ३० मिनेट अन्तर्गत डार्क कमेडी क्राईम टेलिभिजन सिरिज ‘बैरी – अ नाईस मिल’बाट सम्पादक अली ग्रीरले अवार्ड पाए । ‘उत्कृष्ट सम्पादन नन–थिएट्रिकल ओभर ३० मिनेट अन्तर्गत ‘द ह्वाईट लोटस–एरिभेडेरिक’बाट सम्पादक जोन एम. भ्यालेरियोले अवार्ड पाए । थिएट्रिकलतर्फ रङ ग्रेडिङ विधामा ‘ओपेनहाइमर’ फिल्मका लागि फोटोकेम पोष्ट प्रोडक्सन हाउसका कलरिष्ट कोस्टास थिओडोसियो र क्रिस्टन जिम्मरम्यानले अवार्ड पाए भने चलचित्र सम्पादनमा सम्पादक जेनिफर लेमले अवार्ड पाए ।

भिजुअल इफेक्टमा चलचित्र ‘अवतार: द वे अफ वाटर’बाट ‘सर्वोत्कृष्ट भिजुअल इफेक्ट’ श्रेणीमा भिजुअल इफेक्ट आर्टिष्टहरु क्रिस एजेन, निक एपस्टेन, वेन स्टेबल्स, पवानी राव बोड्डापति, वेटा एफएक्सका र सर्गेई नेभ्सुपोभले अवार्ड पाए । ‘उत्कृष्ट कलर ग्रेडिङ’का लागि ‘स्पाइडर–म्यानः एक्रोस द स्पाइडर–भर्स’बाट पिक्चर शप पोस्ट प्रोडक्सन कम्पनीका कलरिष्ट नताशा लियोनेट, ‘हाउस अफ द ड्रयागन’बाट सोनी पिक्चर्स इन्टरटेनमेन्टको पोस्ट प्रोडक्सन कम्पनी पिक्सोमोन्डो र ‘द गडफादर’ बाट प्यारामाउन्ट पिक्चर्सले अवार्ड पाए ।

हलिउडको क्रियटिभ पोस्ट ईन्डस्ट्रियल सस्था द हलिउड प्रोफेसनल एसोसिएसन (एचपिए)ले यो अवार्ड आयोजना गर्छ । अवार्ड आयोजकसँग अमेरिकन सिनेमा एडिटर्स, अमेरिकन सोसाइटी अफ सिनेमाटोग्राफर्स र सिनेमा अडियो सोसाइटीले सहकार्य गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu