‘मालती मंगले’को प्रदर्शनका लागि रामकृष्ण ढकाल अमेरिका प्रस्थान, क्यानडा र अस्ट्रेलियामा पनि जाने



काठमाडौं – नेपाली चलचित्र ‘मालती मंगले’को विश्वव्यापी रिलिज अभियानको लागि चलचित्रका निर्माता तथा लोकप्रिय गायक रामकृष्ण ढकाल अमेरिका प्रस्थान गरेका छन्। चलचित्रको अन्तर्राष्ट्रिय प्रदर्शनमा आफैँ सहभागी हुने उद्देश्यले ढकाल पहिलो चरणको भ्रमणका लागि अमेरिका उडेका हुन्। पहिलो चरणअन्तर्गत उनले अमेरिका, क्यानडा र अस्ट्रेलियाको भ्रमण गर्नेछन् भने त्यसपछि युरोपलगायत अन्य मुलुकहरूमा पनि जाने योजना रहेको ढकालले बताएका छन्। विश्वव्यापी प्रदर्शनका क्रममा चलचित्रको विशेष प्रदर्शनीसँगै दर्शकहरूसँग ‘मिट एन्ड ग्रिट’ र गायक ढकालको साङ्गीतिक कार्यक्रमसमेत सँगसँगै आयोजना हुनेछ।

सार्वजनिक गरिएको प्रदर्शन तालिकाअनुसार अमेरिकाको बोस्टनमा जुन ५ तारिख र न्यु ह्याम्पसायरमा जुन ६ तारिखमा चलचित्र प्रदर्शन तथा साङ्गीतिक कार्यक्रम हुनेछ। त्यसपछि नर्थ क्यारोलाइना, कोलोराडो र टेक्सास हुँदै जुनको तेस्रो साता क्यानडाको टोरन्टोमा चलचित्र प्रदर्शन गरिनेछ। यसै गरी, जुलाई ४ तारिखमा अस्ट्रेलियाको सिड्नीमा चलचित्रको ‘रेड कार्पेट प्रिमियर’ भव्य रूपमा आयोजना हुनेछ भने अस्ट्रेलियाका अन्य सहरहरूमा पनि प्रदर्शनलाई निरन्तरता दिइनेछ। साथै, युरोपका विभिन्न मुलुकहरूमा समेत चलचित्र रिलिज हुने र सो रिलिज तथा साङ्गीतिक कार्यक्रममा ढकालसँगै कार्यकारी निर्माता सागर ज्ञवाली तथा अन्य कलाकारहरूको समेत सहभागिता रहने जनाइएको छ।

रानी फिल्म्सको ब्यानरमा युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको ‘मालती मंगले’लाई प्रकु पाण्डेयले निर्देशन गरेका हुन्। चलचित्रको कथा निर्देशक पाण्डेय स्वयंले तयार पारेका हुन् भने पटकथा तथा संवाद लेखनमा उनलाई संयोग गुरागाईँले साथ दिएका छन्। चलचित्रमा विजय, वर्षा र मेक्समका साथमा प्रकाश घिमिरे, सरिता गिरी, नरिन थापा, मान्सु सापकोटा, सुस्मा निरौला र सुनिल तामाङलगायतका कलाकारहरूको सशक्त अभिनय रहेको छ। कथावस्तु र प्रस्तुति दुवै दृष्टिकोणले उत्कृष्ट मानिएको यस चलचित्रको डायस्पोरा प्रदर्शनले त्यहाँ रहेका नेपाली चलचित्र प्रेमीहरूलाई भरपुर मनोरञ्जन दिने अपेक्षा गरिएको छ।

सागर ज्ञवाली कार्यकारी निर्माता रहेको यस चलचित्रमा बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईँले सह-निर्माताका रूपमा लगानी गरेका छन्। कलाकारहरूको जीवन्त अभिनयका साथै चलचित्रको प्राविधिक पक्षसमेत उत्कृष्ट रहेको छ। चलचित्रमा महेश पौडेलको छायाङ्कन, रोमी मोजेजको सम्पादन र कृष्ण भण्डारीको रङ्ग संयोजन रहेको छ। त्यसै गरी, सुजिल कर्माचार्यले ब्याकग्राउन्ड स्कोर तयार पारेका छन् भने डिकेश खड्गीले ध्वनि मिश्रणको जिम्मेवारी सम्हालेका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu