अस्कर सिफारिस नेपाली चलचित्र ‘हल्कारा’ अमेजन प्राइममा रिलिज



काठमाडौँ।
९६औँ एकेडेमी अवार्ड (अस्कर)मा नेपालबाट सिफारिस भएको चलचित्र ‘हल्कारा’ओटीटी प्लेटफर्म अमेजन प्राइममा रिलिज भएको छ । यसमा चलचित्रलाई रेन्ट र बाइ सुविधाअन्तर्गत विश्वभरबाट हेर्न सकिन्छ ।

यसै वर्ष नेपालमा रिलिज भएको यो चलचित्र वर्षकै उत्कृष्ट समीक्षा प्राप्त गरेको मध्ये एक हो । यसै वर्ष संयुक्त राज्य अमेरिकाको लस-एन्जलसमा आयोजित एसियन वर्ल्ड फिल्म फेस्टिभलमा छनोट भएको यो चलचित्रले गत वर्ष ५५औँ वर्ल्डफेस्ट ह्युस्टन इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा उत्कृष्ट चलचित्रसँगै महेश त्रिपाठीलाई उत्कृष्ट अभिनेता र चिन्तन राजभण्डारीलाई उत्कृष्ट सिनेमाटोग्राफीको अवार्ड जितेको थियो ।

हरेक घरको कथा, प्रवासी युवक र उसलाई पर्खेर बस्ने एक नारीको कथा बोल्ने यो चलचित्रले अन्य केही अन्तर्राष्ट्रिय महोत्सवहरूमा समेत सहभागिता जनाएको छ । नेपाल अमेरिका इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा ‘बेस्ट लङ्ग न्यारेटिभ फिल्म’ बनेको थियो भने फ्लिकर रोड आईल्याण्ड इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा सेमी फाइनल सम्म पुगेको थियो । त्यस्तै, युकेको कार्माथान बे फिल्म फेस्टिभल २०२२ मा अफिसियल सेलेक्सन भएको थियो ।

महेश त्रिपाठी र बिनिता थापामगरको प्रमुख अभिनय रहेको ‘हल्कारा’ गत वैशाख २९ गते नेपालमा रिलिज भएको थियो । हाल युरोप तथा अमेरिकामा केही देशहरूमा प्रदर्शन भइरहेको छ । यस चलचित्रका लेखक, निर्देशक तथा सम्पादक विक्रम सापकोटा हुन् । यसमा विप्लव प्रतीक र आकाश बरालले सह-लेखन गरेका छन् । महेश र बिनिताको साथमा शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ, विद्या कार्की, प्रकाश दाहाल, विष्णुभक्त अधिकारी, दीपक क्षेत्री लगायतको अभिनय रहेको छ ।

यो चलचित्र कालीपार स्टुडियो निर्माण र आइसफल प्रोडक्सनको सहकार्यमा बनेको हो । यसमा ब्रुनो भ्यालेन्टीको ओरिजिनल म्युजिक रहेको छ भने प्रोडक्सन साउन्ड ज्योति रानाको रहेको छ । कलरिस्ट लियोनार्डो क्यानेडियन हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu