प्रदीपको मदिरा विज्ञापनबारे बाँडिए प्रशंसक



काठमाडौँ।
नेपालमा मदिराको विज्ञापनमा सेलिब्रेटीको उपस्थिति कमै मात्र देखिन्छ । तर त्यो उपस्थिति विवादमा पनि पर्छ । अभिनेता प्रदीप खड्काले हालै मात्र एक मदिराजन्य उत्पादनको विज्ञापन गर्दै सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेका छन् ।

उनले फेसबुकमा एक भिडियो राख्दै सो उत्पादनका बारेमा बोल्दै उक्त उत्पादनप्रति आफू पूर्ण विश्वस्त रहेको बताएका छन् ।

प्रदीपले आफू विश्वस्त रहेको बताए पनि उनका फ्यान भने उनीसँग रिसाएका छन् । एउटा नाम चलेको अभिनेताले मदिराको विज्ञापन गर्न नहुने तर्क उनीहरूको छ । केहीले भने प्रदीप एक कलाकार भएको नाताले उनले मदिराको प्रचार गरेको भन्दै बचाउ गरेका छन् ।

प्रदीपले शेयर गरेको फेसबुक रिलको भिडियोमा सामाजिक सञ्जाल प्रयोगकर्ता प्रदीप सिलवाल लेख्छन्, “यसले पक्कै पनि तपाईँको छविलाई बिगार्छ । विज्ञापनमा अभिनय गर्नुभन्दा बलिउडका अक्षय कुमारले फिल्मी करियरलाई प्राथमिकता दिएर फिल्म गर्नुहोला । छनोट तपाईँको हो, तर यसले जनतालाई पक्कै असर पुर्‍याउँछ ।”

प्रदीपले गरेको मदिराको विज्ञापनमा देखिएको दृश्य । (मदिरा ब्लर गरिएको छ)

अर्का सञ्जाल प्रयोगकर्ता हर्मेश रिभा लेख्छन्, “खानु भनेर प्रेसर गरेको होइन । यो साधारण ब्राण्डिङ हो । मन पर्‍यो भने छनोट तिम्रो हो । उनी अभिनेता हुन् । उनको आलोचना नगरौँ ।”

प्रदीपका प्रशंसक विनय बादल लेख्छन्, “यो गलत हो । यो भिडियो युवाहरूका लागि धेरै नराम्रो छ ।”

सोही भिडियोमा प्रतिक्रिया दिँदै जीवन बम्जन लेख्छन्, “तपाईँले भारतीय अभिनेता अल्लु अर्जुनबाट सिक्नुपर्छ । किन ? उनले एक गुट्खा परागको विज्ञापनमा अभिनय गर्न १० करोडको प्रस्ताव अस्वीकार गरेका थिए ।”

धेरै व्यक्तिको आइडल भएका कारण प्रदीपबाट यस्तो कुराको अपेक्षा दर्शकले नगरेको धेरै प्रशंसकले प्रतिक्रिया दिएका छन् ।

“यस्तो खालको विज्ञापन गर्न बन्द गर्नुहोस् । तपाईँ एक सच्चा कलाकार हो र नेपाली चलचित्र उद्योगको भविष्य । यस्तोले कतै तपाईँको करियर बर्बाद हुनसक्छ । किनकि तपाईँ युवा फ्यानहरूको बिचमा बस्नुहुन्छ । म पनि तपाईँको अभिनयको फ्यान भएकोले एउटा सुझाव”, पुनम शर्माले प्रतिक्रिया दिएकी छन् ।

अभिनेत्री केकी अधिकारीले पनि सोही मदिराको भिडियो विज्ञापन गरेकी छन् । उनका पनि प्रशंसकहरूबिच मतभेद देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu