‘चित्रा’ अभिनेता सन्तोष: उमेर ४२, २२ वर्षदेखि अभिनय चाहना



काठमाडौँ।
२२ वर्षदेखि हिरोको सपना साँचेका अभिनेता तथा निर्माता सन्तोष अधिकारी आगामी पुस २७ गतेबाट रिलिज हुने चलचित्र ‘चित्रा’मार्फत अभिनयको चाह पुरा गर्दै छन् । चलचित्र निर्माण तथा विभिन्न इभेन्टको आयोजकका रूपमा आफ्नो अनुभव सँगालिसकेका सन्तोष यस चलचित्रबाट अभिनयको चाहना पुरा गर्दै छन् ।

उमेरले ४० कटिसकेका सन्तोष अर्थात् ४२ वर्षे सन्तोषले फिल्ममा एक छोरीको पिताका भूमिका निर्वाह गरेका छन् । भलै देख्नेले उनलाई उनको फिल्मी डेब्यू ढिलो ठान्छन्, तर सन्तोषको बुझाइमा फिल्ममा डेब्यू गर्ने यो उनको सही उमेर थियो । “कुनै पनि काम गर्न कहिले ढिला गर्नुहुँदैन । सुरु नै नगर्नु चाहिँ समस्या हो । कुनै काम ढिला सुरु गर्ने म पहिलो होइन । भर्खरै ७० कटेकी हजुरआमा त्रिभुवन विश्वविद्यालयबाट दीक्षित हुनुभयो। उहाँले ढिला भयो ठान्नु भएको भए, त्यसबाट उहाँले पाउने असीम खुसी महसुस कसरी गर्नुहुन्थ्यो होला र ? कुनै पनि कुराको कल्पनामा रमाउनु जति मजा छ त्यो भन्दा बढी मजा त त्यो कल्पनालाई साकार बनाउनुमा छ नि होइन र ? मेरो उमेरको हिसाब लगाउने हो भने त ती ७० कटेकी हजुरआमाको अगाडि मसँगै थुप्रै कुराहरू गर्न थुप्रै समय छ”, उनले भने ।

‘चित्रा’को पोस्टरमा सन्तोष

सबै चिजको तुलना उमेरबाट हुन नसक्ने उनको तर्क छ । उनले खोज्दै जाँदा आफ्नो क्षमता र खुबी प्रस्तुत गर्न उमेर तगारो नभएका उदाहरण प्रशस्तै पाइने बताउँछन् । हुन पनि खोज्ने हो भने सन्तोषले भनेजस्तै काम गर्नलाई उमेर फगत एउटा सङ्ख्या हो भन्ने उदाहरण धेरै क्षेत्रमा छन् ।

उनी ग्ल्यामरको क्षेत्र भएकाले यस्तो प्रश्न उठेको हुनसक्ने ठान्छन् । तर उनको बुझाइमा बलिउड, हलिउडमा पनि पाका हिरोहरूको बोलवाला जारी रहेकाले आफूलाई करियर सुरु गर्न उमेरले नछेकेको बताउँछन् । ‘चित्रा’ले उनलाई अभिनय र एक्सन गर्न सक्ने हिरोको परिचय दियोस् भन्ने चाहनामा छन् ।

अभिनय र सङ्घर्षको कुरा गर्दा उनी बिराज भट्टलाई सम्झन्छन् । “खुकुरी चलचित्रमा सानो भूमिकामा डेब्यू हुनुभयो तर हिरोको रूपमा पर्दामा आउन उहाँलाई डेब्यू हुन धेरै वर्ष लाग्यो । वर्षहरू लागे पनि उहाँ लक्ष्य पछ्याउनबाट थाक्नु भएन । पछि नेपाली फिल्मको सुपरस्टार त हुनु नै भयो । छिमेकी देशको भोजपुरी फिल्ममा पनि स्टार हुनुभएको छ । यस्ता कुराको ऊर्जाले नै हो, म डेब्यूका लागि तयार भएको । मलाई थाहा छ बाटो लामो छ तर म आफ्नो लक्ष्य भेट्नेमा ढुक्क छु”, उनले भने ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu