विश्व फेस्टिभलपछि चैत ३० मा नेपालमा ‘द रेड सुटकेस’



काठमाडौँ। विश्वका विभिन्न प्रतिष्ठित फेस्टिभलमा प्रदर्शन भइसकेको नेपाली चलचित्र ‘द रेड सुटकेस’ आगामी चैत ३० गतेबाट नेपालमा सार्वजनिक प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले अभिनेता द्वय सौगात मल्ल र विपिन कार्की स्टारर फिल्मको पोस्टर सार्वजनिक गर्दै रिलिज मितिबारे जानकारी दिएको हो ।

फिडेल देवकोटा निर्देशित चलचित्रले मिथक, नेपालको आप्रवासी परम्परा र नियतिलाई पृष्ठभूमिमा राखेर कथा वाचन गरेको छ ।

गत वर्षको सेप्टेम्बरमा भेनिसमा वर्ल्ड प्रिमियर गरिएको चलचित्रले त्यहाँ महत्त्वपूर्ण दुई अवार्ड जितेको थियो । त्यसपछि जर्मनीको म्यानहाइम हाइडेलवर्ग इन्टरनेसनल फिल्म फेस्टिभल, स्विजरल्यान्डको जुरिच फिल्म फेस्टिभल, भारतको मुम्बई फिल्म फेस्टिभलमा छनोट भएको थियो ।

निर्माता रामकृष्ण पोखरेलले विदेशी दर्शकबाट चलचित्रले प्रशस्त स्नेह पाएको र घरेलु दर्शकबाट सोही स्तरको मायाको अपेक्षा गर्दै नेपालमा रिलिज गर्न लागिएको बताए । ‘विश्वका दर्शकहरूको प्रतिक्रिया हाम्रो लागि उत्साहपूर्ण रह्यो । अब हामी घरेलु दर्शकको पनि प्रतिक्रियाका लागि उत्सुक छौँ । त्यसैले नयाँ वर्षको पूर्व सन्ध्यामा हामीले फिल्म सार्वजनिक प्रदर्शन गर्ने निर्णय गरेका छौँ ,’ निर्माता पोखरेलले भने ।

निर्देशक फिडेल देवकोटाले चलचित्रको प्रदर्शन ‘होमकमिङ’ जस्तै रहेको बताए । ‘ सुरुमा फिल्म बनाउँदा यो कथा विश्वले हेर्नुपर्छ भन्ने लागेको थियो । त्यो सपना साकार भयो । अब चाहिँ यो कथा घर फर्किएको छ,’ उनले भने, ‘यो चलचित्र समसामयिक समाजको ऐना पनि हो ।  यसले हाम्रो समयको सबैभन्दा ठुलो सामाजिक यथार्थलाई उठाएको छ । प्रदर्शनपछि यसमा बहस पनि छेडियोस् भन्ने मेरो आग्रह छ ।’

यसले भेनिसमा फन्डापजियोनी फाई पर्सना लाभारो एम्बिएन्टेजमा ‘अनरेबल मेन्सन अवार्ड’ पाउँदा स्वतन्त्र समीक्षकहरूको जुरीले बिसाटो डिओरो अन्तर्गत डेब्यु फिल्म निर्देशकको रूपमा निर्देशक फिडेल देवकोटालाई ‘वेस्ट फस्ट फिचर फिल्म’को अवार्ड जिताएको थियो । यसले श्रीलङ्कामा हालै सम्पन्न जाफ्ना इन्टरनेसनल सिनेमा फेस्टिभलमा पनि ‘वेस्ट डेब्यु फिचर फिल्म’को अवार्ड जितेको छ । 

फिडेलकै लेखन रहेको चलचित्रमा सौगात र विपिनसँगै प्रवीण खतिवडा, सृष्टि श्रेष्ठ आदि कलाकारको अभिनय रहेको छ । सुशन प्रजापतिको छायाङ्कन रहेको छ । समन अलभितिगाले सम्पादन गरेका छन् । श्रीलङ्कामा प्राविधिक काम गरिएको यसमा शोभा थापा निर्माता र श्रीलङ्काकै विमुक्ति जयसुन्दरा सह निर्माताको रूपमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu