सौगात र कमलमणिसँग रमाए महोत्सवका दर्शक



काठमाडौँ।
मेला र महोत्सव गायक गायिकाका लागि आफ्नो सिर्जनाका प्रचारप्रसारको प्रत्यक्ष माध्यम हो । पछिल्लो समय नेपाली चलचित्रकै लागि पनि केही वर्षयता यो एउटा राम्रो प्रचारप्रसारको माध्यम बन्दै गएको छ । चलचित्र निर्माण टोली कलाकारको टोली लिएर देशका विभिन्न स्थानमा भइरहने मेला र महोत्सवमा पुग्ने गरेका छन् ।

प्रदर्शनको लागि तयार नेपाली चलचित्र ‘हात्तीछाप’को एक टोली पनि हालै नेपालगन्जको महोत्सव, कैलालीको लम्कीकन महोत्सव र बर्दियाको गुलरिया महोत्सवमा पुगेर फिल्मको प्रचार गरेको छ । प्रमुख अभिनेता सौगात मल्ल, कलाकार कमलमणि नेपाल र प्रस्तुत कर्ता किरण नेपाली यी महोत्सवमा पुगेर दर्शकलाई मनोरञ्जन दिँदै आफ्नो चलचित्र हेरिदिन आग्रह गरेका छन् ।

त्यहाँ सौगातले आफ्ना प्रदर्शनमा आएका चलचित्रका चर्चित सन्वादहरू सुनाउँदै दर्शकलाई ती संवादको सम्झना गराए । कलाकार कमलमणि पनि के कम, उनले त दर्शकलाई हँसाएरै मनोरञ्जन दिए । चलचित्रका प्रस्तुत कर्ता किरण नेपाली पनि महोत्सवमा दर्शकले आफूहरूलाई दिएको मायाबाट पुलकित छन् । ‘दर्शकहरूमा चलचित्रप्रति उत्साह निकै पायौँ । यो कुराले हामीलाई निकै खुसी बनाएको छ । हामी चलचित्रको बारेमा जानकारी दिन पश्चिमदेखि पूर्वसम्म पुग्नेछौँ,’ उनले भने ।

अभिनेता सौगातले दर्शकको उत्साहजनक साथ पाउँदा खुसी भएको बताउँदै महोत्सवमा पुग्दा दर्शकले चलचित्र र आफूप्रति देखाएको मायाले थप जिम्मेवार बनाएको बताए । सोमवार नै चलचित्रकी नायिका उपासना सिंह ठकुरी र कलाकार बुद्धि तामाङ दाङ पुगेका छन् ।

चलचित्रको टिम पश्चिम नेपालको प्रचार सकेर काठमाडौँ फर्किनेछ । यसपछि, केही दिनमा पूर्वी नेपालमा पुग्ने बताइएको छ ।

सिमोस सुनुवार निर्देशित यस चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, कमलमणि नेपाल, विल्सन विक्रम राई, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu