महत्त्वाकाङ्क्षामा फसेका धुर्मस-सुन्तलीको पुनः कला यात्रा



काठमाडौँ।
दशक अगाडीको चर्चित टेलि शृङ्खला ‘मेरी बास्सै’बाट ‘धुर्मस-सुन्तली’ नामबाट लोकप्रिय बनेका सिताराम कट्टेल र कुञ्जना घिमिरे पुनः कला यात्रामा होमिएका छन् । टेलिभिजनको पर्दामा चर्चामा रहेकै समयमा उनीहरू सामाजिक सेवामा उद्धत रही केही एकीकृत बस्तीहरू बसाउने कार्यमा लागेका थिए ।

यस क्रममा वि.सं २०७२ वैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्पमा पीडित भएका व्यक्तिहरूको उद्धार, राहत, मानवीय सहायता तथा भूकम्पमा भत्किएका संरचनाहरूको पुन निर्माण तथा पुनर्वास गर्ने उद्देश्यका साथ उनीहरूले ‘धुर्मुस सुन्तली फाउन्डेसन’ नामक संस्था नै खडा गरे । यो संस्थाबाट एकीकृत नमुना पहरी बस्ती, एकीकृत नमुना गिरानचौर बस्ती, एकीकृत नमुना सन्तपुर बस्ती र एकीकृत नमुना मुसहर बस्ती बसाए ।

तत्पश्चात उनीहरूको सामाजिक सेवाको महत्त्वाकाङ्क्षामा वृद्धि आयो । फलस्वरूप उनीहरूले ३ अर्ब अनुमानित लागतको अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको घोषणा गरे । चितवनको भरतपुरमा सो रङ्गशालाको काम निकै हदसम्म अगाडी पनि बढ्यो । यसको लागि फाउन्डेसनले भरतपुर महानगरपालिकासँगको सहकार्यमा शिलान्यासको दुई वर्षभित्र निर्माण सक्ने गरी २०७५ माघ १६ गते अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको घोषणा गरेको थियो । त्यसका लागि देश–विदेशका नेपालीहरूबाट प्राप्त हुने स्वैच्छिक सहयोगबाट आर्थिक स्रोत जुटाउने तयारी थियो ।

सङ्घीय सरकारले पनि आर्थिक सहयोगको लागि सकारात्मक बनेपछि धुर्मस-सुन्तली उत्साहित थिए । समय क्रममा त्यो उत्साह धेरै टिक्न सकेन । केही समयपछि रङ्गशाला निर्माण कार्य स्थगित भयो । उनीहरूले रङ्गशाला निर्माणमा अनियमितता गरेको जस्ता धेरै आरोपहरू पनि खेपे । रङ्गशालाको चक्करमा व्यावसायिक कलाकारिताले पनि लामो समयदेखि साथ छोडेको थियो । रङ्गशालाको टुङ्गो अझै लागेको छैन । यद्यपि सरकारले त्यसको टुङ्गो लगाउने आशासहित लामो समय सिंहदरबार धाएका धुर्मस-सुन्तली अब भने पुनः कला यात्रामा फर्किएका छन् ।

हालै मात्र उनीहरूले कास्कीमा जारी लेखनाथ महोत्सवबाट स्टेजमा फर्किए । झन्डै ८ वर्षपछि फेरि दर्शक हँसाउन स्टेज चढेका उनीहरू भाव विह्वल भए । उनीहरूले पुनः कला यात्राको तयारी गरेर स्टेजमा फर्केका हुन् । “हामीले ‘असल मान्छेको खोजी’ शीर्षकमा प्रहसन तयार पारेका छौँ । त्यो प्रहसनलाई हामीले पहिलो पटक लेखनाथ महोत्सवमा प्रस्तुत गर्ने मौका पायौँ । जसरी पहिला हामी विभिन्न मेला महोत्सव अथवा स्वदेश तथा विदेशका कार्यक्रममा सहभागी हुन्थ्यौँ, अहिले त्यसरी नै फेरी पनि अवसर आयो”, ठुलोपर्दा सँगको कुराकानीमा कट्टेलले बताए । उनले अबका दिनमा स्वदेश तथा विदेशमा फेरी त्यो प्रहसन गर्ने अवसर पाएमा सहभागी हुने जिकिर गरे ।

“हामी टेलिश्रृंखलामार्फत पनि दर्शकलाई पुनः मनोरञ्जन दिनका लागि तयारीमा छौँ । दर्शकको रुचि र चाहना तथा सल्लाह र सुझाव अनुसार नै अगाडि बढ्ने भन्ने सङ्कल्प छ”, उनले भने, “दर्शकबाट हामी कसरी अगाडि बढ्दा हुन्छ, सल्लाह सुझाव चाहेका छौँ ।”

यसअघि कला यात्रामा ‘ब्रेक’ लाग्नुमा माथि उल्लेखित कारणहरू थिए । आफूहरूले चाहेर पनि कलाकारितालाई अगाडी बढाउन नसकेको धुर्मुसले बताए । “हामी सामाजिक कर्ममा रहिरहँदा चाहेर पनि हामीले आफ्नो पेसालाई निरन्तरता दिन सकेनौँ । यो होइन कि हामीलाई नदिइएको अवस्था पनि थिएन । स्वदेशका कार्यक्रममा सहभागी नभए पनि विदेशका विभिन्न सामाजिक कार्यक्रममा सहभागी त थियौँ । तर पहिला जसरी निरन्तर रूपमा व्यावसायिक रूपमा हामी गर्थ्यौ, त्यो चाहिँ रहेन । सामाजिक कामका रूपमा विभिन्न बस्ती निर्माणसँगै रङ्गशाला निर्माणमा आफैँ खट्नुपर्ने र आफैँले त्यसको नेतृत्व गरिरहँदा त्यो एउटा सामाजिक जिम्मेवारी पनि थियो । त्यो जिम्मेवारी पुरा नहुँदा नहुँदै पनि फेरी आफ्नो पेसामा फर्किन सक्ने अवस्था पनि बनेको थिएन ।”

आफ्नो प्रमुख कर्म र धर्म दुवै कलाकारितालाई मान्ने धुर्मस-सुन्तली अहिले एकदमै खुसी छन् । “धेरै लामो समयपछि फेरी स्टेज कार्यक्रममार्फत कलाकारितातर्फ फर्किरहँदा पहिला जसरी दर्शकले माया गर्नुभएको थियो, त्यो भन्दा बढी नै माया गरेर हामीलाई हौसला प्रदान गर्नुभयो । हामी सबै प्रति आभारी छौँ”, धुर्मस-सुन्तलीले एक स्वरमा भने, “फेरी पनि हामीलाई स्विकारेर, माया गरेर हौसला दिनुभएकोमा सम्पूर्ण भगवान् रुपी दर्शकलाई हामी हृदयदेखि धन्यवाद दिन चाहन्छौँ । असाध्यै खुसी लागेको छ, मन भावविव्हल भएको छ ।”

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu