
काठमाडौँ।
यही पौष २७ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘चित्रा’लाई निर्माण पक्षले बाबु छोरीको पारिवारिक कथा भन्दै प्रचार गरिरहेको छ । बिहीबार पत्रकारसँगको अन्तर्क्रियामा निर्देशक घनश्याम लामिछानेले यो चलचित्र बाबु छोरीको कथामा मात्र सीमित नरहेको बताए ।
उनले यसमा पारिवारिकसँगै साथीत्वको कथा र महिला प्रधानतालाई पनि प्राथमिकता दिएको बताए । आफूलाई अघिल्ला चलचित्र नाटक जस्तो देखिएको आरोप लागे पनि त्यो गलत भएको दाबी गरे । “नाटक त म नाटक घरमा बनाउँला । थिएटरका दर्शकलाई त चलचित्र नै हो”, उनले थपे, “चित्रामा ‘लार्जर देन लाइफ’ हेर्न पाउनुहुनेछ ।”
निर्माता तथा यसै चलचित्रमार्फत अभिनेता बनेका सन्तोष अधिकारीले चलचित्रले लगानी उठाउनेमा आफू ढुक्क रहेको बताए । यसअघि ‘आमा’, ‘घर’ जस्ता चलचित्रमा सहायक निर्माता रहेका सन्तोषले आफूले निभाएको पिताको चरित्रले धेरैलाई जोड्ने दाबी गरे ।
अर्का अभिनेता प्रमोद अग्रहरीले एउटा सानो घटनाले मानिसलाई कुन हदसम्म पुर्याउँछ भन्ने चरित्र आफूले निर्वाह गरेको बताए । उनले आफूलाई क्यामराको अगाडि मात्र रिसाउन र मार्न आउने गरेको उल्लेख गर्दै अन्य चरित्र पनि चित्रामा हेर्न पाउने खुलाए ।
यस चलचित्रमा शुभेच्छा खड्का, मेनुका प्रधान, अञ्जना बराइली, प्रकाश घिमिरेलगायतका कलाकारको पनि अभिनय छ ।