चलचित्र ‘पर्खी बसेँ तिमिलाई’ – छोरीलाई हिरोइन बनाउन पिताको करोडौँ लगानी



काठमाडौँ।
चलचित्र क्षेत्रमा जीवन बिताएका अभिभावकले होम प्रोडक्सनको ब्यानरमा बनेका चलचित्रमा छोराछोरीलाई अभिनय गराउनु नेपाली चलचित्र वृत्तमा पुरानै चलन हो । भुवन केसी, शोभित बस्नेत, झरना थापा, शिव श्रेष्ठ लगायतले छोराछोरी माथि लगानी गरेका छन् । ती मध्ये केही सफल बनेका छन् भने केहीको रहरमा मात्र सीमित भएको छ ।

चलचित्रमा नै जीवन बिताउनेले चलचित्रमा दोस्रो पुस्ता खोज्नुलाई कसैले ‘नेपोटिजम’ समेत भन्छन् । कति चलचित्र ‘नेपोटिजम’को सिकार भई तहसनहस समेत बनेका पनि छन् भने चलचित्रमा दोस्रो पुस्तालाई दर्शकले स्विकारेका पनि छन् ।

नयाँ चलचित्र ‘पर्खी बसेँ तिमिलाई’ बनाउँदै नेपाली चलचित्रमा नयाँ निर्माता भित्रिएका छन् । उनी हुन् राजाराम बुढाथोकी । उनी आफू मात्र चलचित्रमा आएका छैनन्, उनले छोरी रक्षालाई समेत साथै ल्याएका छन् । अर्थात् उनले छोरीलाई ‘हिरोइन’ बनाउन करोडौँ दाउमा लगाएका छन् ।

नयाँ कलाकार लिएर चलचित्र बनाउँदा हल र दर्शकले विभेद गरेको भन्दै यस चलचित्रका निर्देशित दीपक श्रेष्ठले चित्त दुखाएका छन् । शनिवार काठमाडौँमा आयोजित पत्रकार भेटघाटमा श्रेष्ठले नयाँ कलाकार लिँदा गाह्रो परेको सङ्केत गरेका छन् । यस चलचित्रमा प्रमुख अभिनेता र अभिनेत्री दुवै नयाँ छन् । रक्षासँगै किरण श्रेष्ठले यसै चलचित्रबाट डेब्यू गर्दैछन् । निर्देशकको सङ्केतले पुस २७ गते रिलिज हुन लागेको यो चलचित्रलाई रिलिज हुन कति मुस्किल परिरहेको छ भन्ने प्रस्ट छ ।

पत्रकार भेटघाटमा निर्माता बुढाथोकीलाई ‘तपाईँले छोरीकै लागि चलचित्रमा करोड लगानी गर्नुभएको हो ?’ भनेर प्रश्न गर्दा घुमाउरो जवाफ दिए । उनले भने, “मैले छोरी भएकै कारण चलचित्रमा लगानी गरेको होइन । मैले उसको प्रतिभामाथि लगानी गरेको हुँ । मेरो छोरीको अभिनय कलालाई मैले नजिकबाट चिनेको छु । उसको म्युजिक भिडियो मोडलिङदेखि अभिनयका कुरालाई बुझेको छु । त्यही कारण छोरीले अभिनय गर्न सक्छिन् भनेर नै चलचित्रमा भित्र्याएको हुँ ।”

यसमा रक्षाले पनि पिताको बचाउ गर्दै भनिन्, “उहाँले मेरो रहर देखेर लगानी गर्नुभएको होइन । मेरो प्रतिभालाई उहाँले देख्नुभएको छ । छोरीका लागि लगानी गरेको भनेर बाहिर हल्ला मैले पनि सुनेकी छु । तर उहाँले मेरो प्रतिभाको सम्मान गर्न लगानी गर्नुभएको हो ।”

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu