नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको सातौँ संस्करण आयोजना हुने



वासिङ्टन डिसी।
नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको सातौँ संस्करण आयोजना हुने भएको छ । सन् २०२४ जुन २० देखि २३ सम्म अमेरिकाको मेरिल्यान्ड राज्य तथा वासिङ्टन डिसी महानगर क्षेत्रमा आयोजना गरिने महोत्सवका लागि विश्वभरिबाट आवेदन खुला गरिएको आयोजक संस्थाले जनाएको छ ।

चलचित्र महोत्सवमा फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र, एनिमेसनका साथै सबै विधाका चलचित्रहरू प्रदर्शन गरिनेछन् । नेपाल, अमेरिका र दक्षिण एसिया सहित विभिन्न देशका स्वतन्त्र सिनेमाहरू यस महोत्सवको उच्च प्राथमिकतामा पर्नेछन् । अमेरिकाको मेरिल्यान्ड राज्यमा स्थापित गैरनाफामुलक संस्था नेपाल-अमेरिका फिल्म सोसाइटीले सन् २०१७ देखि प्रत्येक वर्ष यो महोत्सवको आयोजना गर्दै आएको छ ।

अमेरिकाका वासिङ्टन डिसी, मेरिल्यान्ड र भर्जिनियाका स्थानीय चलचित्रकर्मीलाई प्रोत्साहन गर्न ‘डीएमभी क्लोजअप’ अन्तर्गत चलचित्रहरू प्रदर्शन हुनेछन् । स्थापना कालदेखि ‘ग्लोबल पिस फिल्म फेस्टिभल’ फ्लोरिडासँगको सहकार्यमा प्रदर्शन हुँदै आएका चलचित्रहरू यो वर्ष पनि समावेश हुने जनाइएको छ ।

“यस वर्ष भौतिक रूपमै आयोजना भएको महोत्सवको भव्यताले आगामी वर्ष पनि आयोजना गर्न थप उत्साहित भएका छौँ । यसले सम्पूर्ण दर्शक तथा सहभागीमा मनोरञ्जन र ज्ञान आदानप्रदानको फरक अनुभूति गराउने विश्वास लिएका छौँ”, महोत्सवका निर्देशक युवाकर राजकर्णिकारले भने । कोभिड महामारीका कारण अघिल्ला दुई महोत्सव भने अनलाइनमार्फत गरिएका थिए ।

अन्तर्राष्ट्रिय चलचित्रकर्मी सम्मिलित समितिले आवेदन परेका मध्येबाट चलचित्रहरू प्रदर्शनका लागि छनोट गर्नेछ। प्रदर्शन गरिएका मध्येबाट उत्कृष्ट चलचित्रहरूलाई विभिन्न अवार्डबाट पुरस्कृत गरिनेछ । महोत्सवको अवधिमा चलचित्र, संस्कृति र नयाँ प्रविधिबारे ‘प्यानल’ छलफल तथा कार्यशाला समेत हुनेछन् । हरेक चलचित्र प्रदर्शनपछि त्यसका निर्देशक, निर्माता तथा कलाकारसँग अन्तरक्रिया गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu