धरानमा चलचित्र ‘गोर्खा वारियर’को प्रिमियर हुने



काठमाडौं।
रिलिज मिति नजिकिँदै गएको ऐतिहासिक चलचित्र ‘गोर्खा वारियर’को धरानमा प्रिमियर हुने भएको छ । ११ फागुनमा देशभर रिलिज हुने यो चलचित्रको ५ फागुनमा प्रिमियर गर्न लागिएको हो ।

चलचित्रका निर्देशक मिलन चाम्सले पूर्व ब्रिटिस आर्मी तथा ब्रिटिस आर्मीहरूको धेरै बसोबास भएको धरानबाट बारम्बार आग्रह आएका कारण प्रिमियर गर्न लागेको बताए । उनले भने, “पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, उदयपुरका पूर्व ब्रिटिस आर्मीहरू सहभागी हुने धरानको प्रिमियर ऐतिहासिक हुनेछ ।” त्यहाँ एक दर्जन भन्दा बढी विभिन्न जातजातिको जातीय पोसाक र बाजागाजा सहित ‘गोर्खा वारियर’को ब्यानर बोकेर धरान सहरमा र्‍याली गरेर सो टोली प्रिमियरमा सहभागी हुने उनले बताए ।

प्रिमियरमा ब्रिटिस गोर्खा आर्मीसँगै नेपाल आर्मी, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीका उच्च पदाधिकारीहरू, विभिन्न सरकारी निकायका उच्च पदाधिकारीहरू, स्थानीय सरकारका प्रमुखहरू एवम् त्यहाँका विशिष्ट व्यक्तित्वहरू सहभागी हुने पनि चाम्सले जनाएका छन् ।

यस अघि गोर्खा वारियरको बेलायतमा ऐतिहासिक रेड कार्पेट प्रिमियर सम्पन्न भएको थियो । यसमा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, शिशिर बाङ्देल, कविता आले, रियर राई, बिरूप घले, सारा राईलगायतका कलाकारहरूले अभिनय गरेका छन् । यही चलचित्रबाट नायकमा डेब्यु गरेका रितेस चाम्स आफैँ ब्रिटिस गोर्खा आर्मीसँगै पाइलट पनि हुन् ।

यो चलचित्र लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो । गोर्खा वारियरको निर्मातामा सुमन राई, सुस्मिता वाइबा छन् । यसको कार्यकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवम् सह निर्मातामा सुरेश राई रहेका छन् ।

यो चलचित्रको गीत शैलेन्द्र खनाल ‘शरद’ले लेखेका हुन भने सो गीतमा एलिस कार्कीको सङ्गीत, राजेश पायल राईको गायन रहेको छ । फिल्मलाई राजेन्द्र मोक्तानको रङ्ग संयोजन गरेका छन् । यो चलचित्रमा हिमाल केसीको द्वन्द्व निर्देशन, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डीओपी छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu