चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली चलचित्र क्षेत्रको समस्याको जड पुरानो ऐन परिवर्तन नहुनु रहेको बताएका छन् । नेशनल डेल्फिक काउन्सिल नेपालले शनिबार बेलायतमा आयोजना गरेको ‘नेपाली चलचित्रको ६ दशक : चुनौती र अन्तर्राष्ट्रिय बजारको खोजी’ विषयक कार्यक्रममा उनले २०२६ सालको ऐन परिवर्तन नभएसम्म चलचित्र क्षेत्रका समस्या समाधान हुन नसक्ने जिकिर गरे । र, यसका लागि आफू सरकारसँग लडिरहेको उनको भनाई छ ।
उनले भने- ‘मैले चलचित्र खेल्नुभन्दा अगाडिको ऐन अहिलेसम्म लागू भैरहेको छ । ५० वर्ष अगाडिको ऐनले नेपाली चलचित्र चलिरहेको छ । सबै कुराको समस्याको जड यहीँ हो । जबसम्म यो ऐन परिवर्तन हुँदैन, तबसम्म समस्या ज्यूँकात्यूँ रहन्छ । नयाँ ऐन पारित गर्नका लागि अहिले म सरकारसँग लडिरहेको छु ।’ उनले बोर्ड अध्यक्षको कार्यकाल २ वर्ष राख्नुको कारण चलचित्र क्षेत्रको विकास नहोस् भन्नका लागि रहेको समेत तर्क गरेका छन् ।
अध्यक्ष केसीले आफूले कलाकार, निर्माता र निर्देशकको रुपमा भागेको पीडा अरुले भोग्नु नपरोस् भन्नका लागि बोर्ड गएको जिकिर गरे । तर, पुरानो ऐनकै कारण बोर्डसँग अधिकार नै नभएको उनको अनुभव छ । ‘मप्रति अपेक्षा ठूलो छ तर किन अहिलेसम्म केही गर्न सकेको छैन भन्ने धेरैलाई लागेको छ । पक्कै पनि म त्यहाँ जागिर खान गएको होइन,’ उनी थप्छन्, ‘नेपाली चलचित्रलाई सिस्टममा ल्याउनका लागि म बोर्ड गएको हुँ । तर, बोर्ड गएपछि थाहा पाएँ कि कति चीजहरु बोर्डले चाहेर पनि गर्न नसक्ने रहेछ । जति अधिकार बोर्डमा छ भन्ने सोचेको थिएँ, त्यस्तो केही रहेनछ ।’
उनले विदेश बस्ने निर्माता/निर्देशकलाई बजारको अध्ययन गरेर मात्र चलचित्र बनाउन सुझाव दिएका छन् । ‘विदेशमा बस्ने मेकरले चलचित्र बनाएपछि चलाउनका लागि हल पाइँदैन भन्ने गुनासो सुन्ने गरेको छु । तर, चलचित्र बनाउनुभन्दा अगाडि कसरी बनाउने, किन बनाउने र कसरी चलाउने भन्ने ज्ञान हुनुपर्छ । नेपालमा कतिवटा हल छ ? नेपाली चलचित्रको मार्केट कति हो ? दर्शकले कस्तो चलचित्र रुचाउँछन् ? त्यसलाई पनि अध्ययन गरेर चलचित्र बनाउनुपर्छ,’ उनको सुझाव छ ।
अध्यक्ष केसीले चलचित्रलाई मनोरञ्जनको साधनको रुपमा मात्र लिने नहुने पनि तर्क गरेका छन् । चलचित्रले देशको संस्कृतिदेखि पर्यटन प्रवर्द्धनसम्म ठूलो भूमिका खेल्ने उनको धारणा छ । उनले भने- ‘चलचित्रले कला, संस्कृति, भाषा र पर्यटनको प्रवर्द्धन गर्छ । हामीले चलचित्रबाट आफ्नो भाषा संसारभर फैलाउनुपर्छ । संसारभरका मानिसले हाम्रो भाषा बोलुन् न, अलि पो नेपाली चलचित्रले केही छलाङ्ग मारेछ भन्ने महसुस हुन्छ । त्यसका लागि हामी आफैंले आफ्नो देशको चलचित्रलाई माया गर्नुपर्छ ।’
उक्त कार्यक्रममा सहभागी हुन नेपालबाट बोर्ड अध्यक्ष केसीसहित नेशनल डेल्फिक काउन्सिल नेपालका अध्यक्ष श्रीदेव विएल, उपाध्यक्ष जीवन कुमार पराजुली, नेपाल म्यूजिक भिडियो निर्देशक समाजका प्रथम उपाध्यक्ष देवेन्द्र पाण्डे लगायत बेलायत पुगेका थिए । डेल्फिक काउन्सिलले चलचित्र तथा कला-संस्कृतिको प्रवर्द्धनका लागि देशभित्र विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ ।