बन्द भयो गोपीकृष्ण हल



चलचित्र प्रदर्शनको गर्विलो इतिहास बोकेको चाबहिलस्थित गोपीकृष्ण हल मंगलबारदेखि बन्द भएको छ । गत शुक्रबार एक विज्ञप्तिमार्फत् फागुन १ गतेदेखि हल बन्द हुने जानकारी गराइएको थियो । कोरोना महामारीको समयदेखि बेहोर्नुपरेको आर्थिक घाटाका कारण हल बन्द गर्ने निर्णयमा पुगेको गोपीकृष्ण मुभिजका प्रबन्ध निर्देशक नीरक पौडेलले विज्ञप्तिमा उल्लेख गरेका थिए ।

विज्ञप्तिमा भनिएको थियो, ‘कोरोनाको समयदेखि फिल्म क्षेत्रमा आएको व्यवसायिक मन्दीका कारण यो हलले व्यहोर्नु परेको ठूलो आर्थिक घाटा तथा राज्यको विद्यमान कर प्रणलीले गर्दा फिल्म निर्माण, प्रदर्शन तथा वितरणमा देशको अग्रणी स्थानमा रही विगत पाँच दशकदेखि सक्रिय रहेको यस व्यवसायलाई बन्द गर्नुको पीडा व्यक्त गर्न सकिन्न ।’ कोभिडअघि यो हलमा ७ वटा पर्दा थिए ।

२०७२ सालमा गएको भूकम्पपछि गोपीकृष्ण हलको मुख्य संरचना भत्काइएको थियो । र, सँगैको भवनमा २ वर्षअघि ‘ओमः’, ‘नमः’ र ‘शिवायः’ गरी तीन हल सञ्‍चालनमा ल्याइएको थियो । तर, पहिलाको जस्तो यी हलमा दर्शकको चहलपहल हुन सकेन । जसले गर्दा २८ वर्षदेखि सञ्चालनमा रहेको हल बन्द गर्ने निर्णयमा गोपीकृष्ण समुह पुगेको हो । अबको केही वर्ष हल पूर्ण बन्द रहनेछ ।

गोपीकृष्ण हल भएको ठाउँमा अब १४ तलाको विशाल भवन बनाइँदैछ, जहाँ पाँचतारे होटलदेखि सपिङ कम्पलेक्ससम्म हुनेछन् । त्यसैको सबैभन्दा माथिल्लो तलामा सुविधासम्पन्न हल सञ्चालन गर्ने तयारी गरिएको छ । प्राप्त जानकारी अनुसार, नयाँ भवनमा पुनः ७ वटै स्क्रिन सञ्चालन गरिनेछ । २०५२ सालदेखि गोपीकृष्णले चलचित्र प्रदर्शन सुरु गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu