आगामी फागुन २५ बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘काँडेतार’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार ‘जनयुद्ध दिवस’को अवसर पारेर विश्वज्योती सिनेप्लेक्स हलमा पत्रकार सम्मेलको आयोजना गर्दै एक्सन प्रधान ट्रेलर सार्वजनिक गरिएको हो ।

राष्ट्रिय भावनामा आधारित चलचित्रको ट्रेलरमा भारतले नेपालको सीमा मिचेर मुलुकको राष्ट्रिय स्वाधिनतामा हस्तक्षेप गरेको कथावस्तु पेश गरिएको छ । यसअघि देशभरका विभिन्न स्थानमा च्यारिटी शो प्रदर्शन गरिएको चलचित्रलाई चलचित्र विकास बोर्डले विशेष चलचित्रको रुपमा घोषणा गर्दै १० लाख रुपैयाँ प्रोत्साहन शुल्क प्रदान गरेको छ ।
नेपाल–भारत सीमामा काँडेतार लगाएर सीमाना व्यवस्थित गर्नुपर्ने मत पेश गरेको चलचित्रमा नवल अलवा गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरीका साथै बाल कलाकार नादिया खड्का र सनया खड्काको अभिनय छ ।
सामना फिल्म्स प्रालिको ब्यानरमा बनेको चलचित्रको लेखन शिवम् अधिकारी र नवलले गरेका हुन् । मणि थापा र दीपक शर्माको संगीत रहेको ‘काँडेतार’को छायांकन सौरभ लामाले गरेका हुन् । फिल्ममा श्री श्रेष्ठको द्वन्द्व र कविराज गहतराजको कोरियोग्राफी रहेको छ । नवल खड्का, माकिको राई र अञ्जु केसीको निर्माण रहेको चलचित्रकी कार्यकारी निर्माता सत्यकला राई हुन् ।