अभिनेत्री केकी अधिकारीको मुख्य भूमिका रहेको चलचित्र ‘बोक्सीको घर’को फर्स्टलुक पोस्टर रिलिज गरिएको छ । बैशाख १४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको पोस्टरमा एक महिलालाई रातो साडीमा कपाल फिजाएर पिपलको बोट अगाडि उभिएको अवस्थामा चित्रित गरिएको छ । र, पिपलको बोटमाथि ठूलो आकारमा पूर्णिमाको चन्द्रमालाई देखाइएको छ ।

सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको चलचित्रलाई केकी अधिकारी फिल्मस्ले निर्माण गरेको हो भने चलचित्रको निर्मातामा केकीका बुबा बद्री अधिकारी छन् । यस्तै, कार्यकारी निर्माता राज घिमिरे हुन् ।
केकी अधिकारी फिल्मस्को प्रस्तुतिमा निर्माण भएको चलचित्रमा केकीका अलावा सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ । लोचन रिजालको ब्याकग्राउण्ड म्युजिक रहेको चलचित्रलाई शिवराम श्रेष्ठले छायांकन गरेका हुन् ।