‘ऊनको स्वीटर’को ‘फूल’ गीत सार्वजनिक



६ महिना अगाडि चलचित्र ‘ऊनको स्वीटर’को निर्माण घोषणा गर्ने क्रममा गायक सुजन चापागाईंको स्वर तथा संगीत र हर्क साउदको शब्द रचनामा ‘तिमी जस्तै न्यानो’ गीतको सानो अंश सार्वजनिक गरिएको थियो । उक्त गीतलाई रुचाइएपछि धेरैले पूर्ण अंश पर्खिरहेका थिए । अन्ततः भ्यालेन्टाइन डेको अवसर पारेर गीतको पूर्ण अंश सार्वजनिक गरिएको छ । ५ मिनेट लम्बाईको गीत ‘प्रेमयुक्त’ छ ।

गीतको भिडियोमा चलचित्रका दुई मुख्य पात्र विपिन कार्की र मिरुना मगरको प्रेमकथा देखाइएको छ । भिडियोमा तन्नेरी अवतारमा देखिएका विपिन र मिरुना लेकको गोठमा प्रेमालाप गरिरहेका देखिन्छन् । लेकको गोठ काठमाडौंमा सेट लगाएर तयार पारिएको हो । निर्देशक नवीन चौहानले यो गीतले दुई मुख्य पात्रको भाव र चलचित्रको स्वरुपलाई केही मात्रामा चित्रित गर्ने जानकारी गराए ।

चलचित्रमा विपिन र मिरुनाका साथै माओत्से गुरुङ, अनिल सुब्बा, सुरज तमू, एलेक्स पारस, परीक्षा लिम्बू, मिलन खत्री, अरुण पुन मगर, भावना खपाङ्गी मगर, कवि राई, रुपेश लामा, प्रकाश बस्नेत, लक्ष्मी योङहाङ, नरेश लावती लगायतको पनि अभिनय रहनेछ । आगामी बैशाखमा छायांकन हुने चलचित्रलाई निर्देशक चौहान स्वयंले लेखेका हुन् । फिचर चलचित्र निर्देशनमा उनको यो डेब्यू हो ।

चलचित्रमा सुजन चापागाईं र कोविद बज्रले संगीत निर्देशन गर्नेछन् भने हर्क साउद तथा झुमा लिम्बुको शब्द रचना रहनेछ । अनिल सुब्बा र सुरज तमूले कास्टिङ निर्देशक हुन् । फिल्मलाई छायाँकार चिन्तनराज भण्डारीले खिच्नेछन् । कृष्ण भण्डारीले सम्पादन गर्ने चलचित्रलाई पाँचथरमा खिचिनेछ । चलचित्रको कथावस्तुअनुसार आगामी वर्षको शरद ऋतुमा प्रदर्शन गर्ने योजनामा निर्माण टिम छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu