धरान। लन्डनको ऐतिहासिक रेड कार्पेट प्रिमियर गरिएको नेपाली चलचित्र ‘गोर्खा वारियर’को शनिवार धरानमा भव्य प्रिमियर गरिएको छ । लाहुरेको सहर भनेर चिनिने धरानको बाराह भवनमा रहेको फ्रेन्ड्स सिनेमाजमा यसको प्रिमियर गरिएको हो ।
कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न सो प्रिमियरमा धरान उपमहानगरका प्रमुख हर्क साम्पाङ विशिष्ट अतिथि थिए । प्रिमियर अघि विभिन्न जातजातिहरूले आफ्नो भेसभुसा र पहिरनमा सजिएर बाजागाजा सहित धरानको छाता चोकबाट सिनेमा हलसम्म गोर्खा वारियरको ब्यानर सहित झाँकी निकालेका थिए । सो झाँकीमा यो चलचित्रका कलाकार तथा प्राविधिकहरू समेत सहभागी भएका थिए ।
समारोहमा चलचित्रकर्मी तथा अतिथिहरूका सम्मानमा सशस्त्र प्रहरी बलका ब्यान्ड टोलीका कलाकारहरूले सो चलचित्रको गीत सहित राष्ट्रिय भावका गीतको धुन प्रस्तुत गरेका थिए ।
मुख्यमन्त्री कार्की, मेयर साम्पाङसहित सांसदहरू, विभिन्न राजनीतिक पार्टीका नेताहरू, सामाजिक अभियान्ताहरु, सरकारी निकायका विभिन्न उच्च ओहोदाका कर्मचारीहरू, स्थानीय निकायका पदाधिकारीहरू, पेसागत तथा विभिन्न जातजातिसँग सम्बन्धित सङ्घ संस्थाका पदाधिकारीहरू, प्राध्यापक, साहित्यकार, कलाकार, पत्रकार, तथा बुद्धिजीवीलगायतका अतिथिले चलचित्र गोर्खा वारियर हेरे । प्रिमियरमा गोर्खा वारियर टिमबाट निर्देशक चाम्स, निर्माता सुमन राई, सह निर्माता ज्योतिराज राई, अभिनेता रितेश चाम्स, रियर राई, विजय लामा, अभिनेत्री रेविका गुरुङ, सञ्चारकर्मी नरेश भट्टराईलगायत सहभागी थिए ।
चलचित्र हेर्ने क्रममा मुख्यमन्त्री कार्कीदेखि धरानका मेयर हर्क सम्पाङसमेत भावुक बने। अन्य अतिथिहरू पनि चलचित्रको दृश्यमा पटक पटक भावुक भएका थिए ।
यो चलचित्र हेरेपछि मुख्यमन्त्री कार्कीले निर्देशक मिलन चाम्सले गोर्खा सैनिकको जीवन सङ्घर्षमा उत्कृष्ट चलचित्र बनाएको बताए । यो चलचित्रले विश्वमा ब्रिटिस गोर्खा सैनिकको ‘गोर्खा वारिअर’को रूपमा नयाँ परिचय थपिएको बताउँदै कार्कीले भने, ‘यो फिल्म मात्र नभएर हामी हरेकको कथा र पहिचान हो । यसलाई हौसला दिनुपर्छ।’