चलचित्र पत्रकारहरूको राष्ट्रिय भेलाले जारी गर्‍यो १३ बुँदे घोषणापत्र



हेटौँडा। चलचित्र पत्रकार सङ्घ नेपालले आयोजना गरेको चलचित्र पत्रकारहरूको पहिलो राष्ट्रिय भेलाले १३ बुँदे घोषणापत्र जारी गरेको छ । फागुन ५ देखि ८ गतेसम्म भएको सो भेलाको अवसरमा चलचित्र पत्रकारिता कार्यशाला तथा विभिन्न संवादका सेसनहरू भएका थिए ।

चलचित्र पत्रकारिताका क्षेत्रका विभिन्न पक्षका व्यक्ति तथा संस्थाहरूलाई एक साथ ल्याउन सफल भएको यो भेलामा भेलामा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, चलचित्रकर्मीहरू नरेन्द्र महर्जन, आकाश अधिकारी, दिनेश डिसी, निश्चल बस्नेत, स्वस्तिमा खड्का, केकी अधिकारी,रबिन्द्र सिंह बानियाँ,दयाराम दाहाल,दिनेश डिसी आदि चलचित्रकर्मी तथा देशभरका १५० भन्दा बढी चलचित्र पत्रकारहरूको उपस्थिति रहेको थियो ।

सहभागी वक्ताहरूले नेपाली चलचित्र क्षेत्रको विकासका लागि आवश्यक नीतिगत परिवर्तन, कानुनी सुधार र सहकार्यको आवश्यकतामा जोड दिएका थिए ।राष्ट्रिय भेला समापन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जमरकट्टेलले चलचित्र क्षेत्रको विकासमा काम गर्ने रणनीति निर्माण गरिरहेको बताए । उनले चलचित्रले समाजको विद्यमान अवस्था झल्काउने भन्दै गरिखाने वर्गको पक्षमा चलचित्रले भूमिका खेलेको देखिने धारणा व्यक्त गरे ।

मुख्यमन्त्री जमरकट्टेलले विगतमा चलचित्र विकास बोर्डको तत्कालीन अध्यक्षसँग दोलखाको डाङडुङे डाँडालाई फिल्म सिटी बनाउन पहल सहित बजेट विनियोजन गरेको बताए। तर, विविध कारणले हुन नसकेको उनको भनाई छ । अहिले दोलखाको डाङडुङे डाँडा, मकवानपुरको थाहा नगरपालिका, इन्द्र सरोवर र धादिङको रुविभ्याली गाउँपालिकालाई फिल्म सिटी बनाउन प्रयास भइरहेको छ । चलचित्र ऐन बनाउन सरकारले ड्राफ्ट निर्माणको चरणमा रहेको समेत मुख्यमन्त्रीले बताए ।

आगामी प्रदेशसभाको हिउँदे अधिवेशनले उक्त विधेयक पारित गरी ऐनका रूपमा जारी गर्ने सरकारको तयारी रहेको उनको भनाई छ । मिडिया क्षेत्रसँग सम्बन्धित प्रस्ताव राष्ट्रिय समन्वयन परिषदको बैठकमा पेस गरिएको र पत्रकारहरूको सामाजिक सुरक्षा कोषमा सहभागी गराउने प्रक्रिया अघि बढाइएको पनि मुख्यमन्त्रीले जानकारी दिएका छन् ।

कार्यक्रममा बागमती प्रदेश सञ्चार रजिस्ट्रार रेवती सापकोटाले चलचित्र क्षेत्रको व्यवस्थापनका लागि कानुन निर्माण कार्य अघि बढाएको बताए । उनले लघु चलचित्र निर्माणका लागि कार्यविधि बनाएर कार्यान्वयनको चरणमा रहेको र चलचित्र लेखनका लागि पटकथा लेखन तालिम सञ्चालन गरी सहयोग गरिने बताए । विधागत पत्रकारितालाई प्रोत्साहन गर्न एक महिनाभित्र हाते पुस्तकसहित एप्रिसेशन कार्यशाला सञ्चालन गर्ने सरकारको तयारी रहेको समेत रजिस्ट्रार सापकोटाले बताए ।

भेलामा चलचित्र ऐन, पत्रकार आचारसंहिता, पर्यटन प्रवर्द्धन लगायतका विषयमा छलफल भएका थिए । चलचित्र संवाद, अन्तरक्रिया, कार्यशाला लगायतका कार्यक्रम पनि भएका थिए ।

भेलाका आयोजक चलचित्र पत्रकार सङ्घ नेपालका अध्यक्ष समीर बलामीले चलचित्र क्षेत्रको विकास नभए चलचित्रकर्मी र पत्रकार दुवैको अस्तित्वमा खतरा पर्ने बताएका थिए । त्यस कारण सबैले मिलेर यस क्षेत्रको विकासमा लाग्नु पर्नेमा उनको जोड थियो ।

चलचित्र पत्रकारिता क्षेत्रको विकासका लागि नीति, कानुन र कार्यक्रमका बारेमा छलफल भएको छ । चलचित्र पत्रकार सङ्घको यो भेलाले चलचित्र क्षेत्रको विकासका लागि एक महत्त्वपूर्ण कदम चालेको छ । यसैबिच, अध्यक्ष बलामीले चलचित्र पत्रकार सङ्घ नेपालको प्रथम राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता कार्यशालाले हेटौँडा उपमहानगरपालिका–२, हेटौँडा, मकवानपुर घोषणा पत्र-२०८० जारी गरेको जनाएका छन् ।

यस्तो छ घोषणापत्रः

  1. भीम फेदी कुलेखानी सुरुङ मार्ग निर्माण गरी हेटौँडासहित समग्र मकवानपुरलाई फिल्म हवको रूपमा विकास गर्न चलचित्र पत्रकार सङ्घ नेपाल सम्बन्धित सरोकारवाला निकायसँग माग गर्दछ ।
  2. केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले स्थानीय पर्यटकीय ठाउँको पर्यटन प्रवर्द्धनका लागि सिनेमा पर्यटनलाई जोड दिँदै विभिन्न कार्यक्रमहरू तय गर्न तीनै तहको सरकारसँग यो भेला माग गर्दछ ।
  3. हेटौँडाको विभिन्न आसपासका क्षेत्र र मकवानपुरको चित्लाङ, कुलेखानी, दामन, थाहा, मकवानपुर गढीलगायतका ठाउँमा सिनेमा पर्यटनलाई जोड दिई आवश्यक पूर्वाधार निर्माणका लागि प्रदेश र स्थानीय तहका दुवै सरकारसँग यो भेला माग गर्दछ ।
  4. नेपाली सिनेमा बजारको अध्ययन, अनुसन्धान, व्यवस्थापन र विस्तारका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्न र नेपाली सिनेमा बजारको विस्तारका लागि निरन्तर योगदान गरिरहेका व्यक्ती तथा सस्थाहरुसँग सहकार्य समन्वय गरी प्रोत्साहन र प्रवर्द्धन गर्न यो भेला सम्बन्धित पक्षसँग माग गर्दछ ।
  5. विट पत्रकारिताको समस्या सम्बोधन गरी यसको संरक्षण र प्रवर्द्धनका लागि विशेष योजना बनाउन सम्बन्धित निकायसँग यो भेला माग गर्दछ ।
  6. अनलाइन पत्रिका तथा बिट पत्रकारितालाई पनि लोक कल्याणकारी विज्ञापनले समेट्न यो भेला माग गर्दछ ।
  7. स्वायत्त चलचित्र उद्योगका लागि समयानुकूल र नेपाली चलचित्रको विकासका लागि प्रभावकारी रूपमा चलचित्र ऐन यथाशक्य संशोधन गर्न यो भेला माग गर्दछ ।
  8. नेपाली सिनेमाको माध्यमबाट पर्यटन प्रवर्द्धनका लागि प्रभावकारी कार्यक्रमहरू तय गर्न यो भेला तीनै तहका सरकार र सम्बन्धित निकायसँग जोडदार माग गर्दछ ।
  9. कला, संस्कृति र पहिचानसहितको मौलिक चलचित्र तथा अन्तर्राष्ट्रिय रूपमा प्रतिनिधित्व गर्ने नेपाली चलचित्र वा चलचित्रकर्मी र महोत्सवहरूमा जाने चलचित्र तथा चलचित्रकर्मीलाई प्रोत्साहन तथा प्रवर्द्धन प्रचार प्रसार गर्न यो भेला सम्बन्धित निकायसँग माग गर्दछ ।
  10. श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनको लागि यो भेला माग गर्दछ ।
  11. सरकारले पत्रकार सम्बद्ध सङ्घ संस्थालाई दिइँदै आएको सहुलियत अनुदान रकम निकै न्यून छ । चलचित्र पत्रकार सङ्घ नेपालले सो अनुदान समेत प्राप्त गर्न सकेको छैन । चलचित्र पत्रकार सङ्घ नेपाललाई हरेक आर्थिक वर्षमा सहुलियत अनुदान रकम उपलब्ध गराउन केन्द्रीय, प्रदेश तथा स्थानीय सरकारलाई यो भेला माग गर्दछ ।
  12. हेटौँडाको मकवानपुर गढी, सहिद स्मारक, कुष्माण्ड सरोवर त्रिवेणी धाम, वनस्खण्डी, भुटनदेवी मन्दिर, पाथीभरा, पुष्पलाल पार्क, चिप्लेटी गाउँ, हर्नामाडी मुर्तिपार्क लगायतका ठाउँहरूलाई प्रवर्द्धनका लागि सिनेमामार्फत प्रस्तुत गर्न र त्यसको लागि स्थानीय सरकारले समन्वय र सहुलियतको व्यवस्था गर्न यो भेला माग गर्दछ ।
  13. सङ्घको प्रथम राष्ट्रिय भेला सम्पन्न गर्न सहयोग गर्नुहुने बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालय र सञ्चार रजिस्ट्रार कार्यालय, बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालय, चलचित्र विकास बोर्ड, प्रेस काउन्सिल नेपाल, विज्ञापन बोर्ड, नेपाल पर्यटन बोर्ड, नेपाल टेलिभिजन, चलचित्र पत्रकार सङ्घ नेपाल मकवानपुर शाखा लगायत सम्पूर्ण सङ्घ संस्था र प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सबैमा यो भेला हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।
प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu