उपहारले आँखालाई शीतल दिन्छ: रेखा थापा



काठमाडौं। अभिनेत्री रेखा थापाले आफ्नो चलचित्र ‘उपहार’ले सामाजिक विषयवस्तुलाई मनोरञ्जनपूर्ण हिसाबले प्रस्तुत गरेको बताएकी छन् । हाल अमेरिकामा रहेकी थापाले नेपाली चलचित्रमा एउटै विषयवस्तु भयो भन्ने आरोप आफूले पनि सुनिरहेको बताउँदै त्यो आरोपलाई ‘उपहार’ले गलत साबित गर्ने दाबी गरिन् ।

‘हाम्रो चलचित्र आँखालाई शीतल दिने किसिमको छ । चलचित्रमा हरेक मान्छेको यात्रामा भेटिने सफलता र असफलता तथा प्रेम र बिछोडका कुरा दर्शकले पाउनुहुनेछ’, रेखा भन्छिन् । ‘उपहार’मा समाज रूपान्तरणका कुरादेखि लिएर हरेक दिन समाजमा भइरहने घटनाका कुरा पनि उठान भएको बताइन् । चलचित्रमा नारी मात्र होइन, पुरुष पनि पीडित छन् भन्ने कुरा देखाइएको उनले सुनाइन् ।

‘५–१० वर्ष यता नेपाली चलचित्रमा देखिँदै आएका कथा भन्दा ‘उपहार’को कथा फरक छ । हामीले ‘हिट’ भन्दा पनि दर्शकले मन पराउने कथामा चलचित्र बनाएका छौँ । चलचित्रको कथा, छायाङ्कन, सम्पादन, सङ्गीतलगायत सबै कुराले दर्शकलाई मनोरञ्जन दिन्छ भन्नेमा ढुक्क छौँ । दर्शकले तनाव मुक्त भएर ‘उपहार’ हेर्नुहुनेछ’, उनले भनिन् ।

रेखाले नयाँ कलाकारसँगको सहकार्यले आफू खुसी भएको बताइन्। ‘फिल्मको प्रमोसनमा नयाँदेखि पुराना कलाकारहरूले उत्तिकै साथ दिइरहनुभएको छ । मेला, महोत्सव होस् या मिडिया अन्तरवार्तामा उहाँहरू सक्रिय हुनुहुन्छ’, रेखा भन्छिन् ।

पाँच वर्षपछि चलचित्र ‘उपहार’मार्फत दर्शकमाझ आउँदै छिन् । रेखा पहिलो सन्तानलाई जन्मदिन परिवारसँग अमेरिकामा रहे पनि आगामी फागुन २५ गतेबाट रिलिज हुने चलचित्र ‘उपहार’को प्रचारप्रसार अमेरिकामै बसेर गरिरहेकी छन् । उनले त्यहीबाट विभिन्न सञ्चारमाध्यममा अन्तरवार्ता दिइरहेकी छन् ।

रेखाले निर्देशन र अभिनय गरेको चलचित्र ‘मालिका’ पाँच वर्षअघि दर्शकमाझ आएको थियो । पाँच वर्षपछि दर्शकमाझ आउन पाउँदा उनी उत्साहित छिन् । ‘मालिकापछि मैले अभिनेत्रीकै रूपमा चलचित्रमा त काम गरिनँ । तर एक दुई वटा फिल्मका गीतमा केमियो गरेँ’, उनी भन्छिन्, ‘चलचित्रमा काम गर्ने सोच त थियो, तर बिचमा कोभिड महामारीको लकडाउनले त्यो सम्भव भएन ।’

रेखाको बुझाइमा ‘उपहार’ अमूल्य विषय हो । उनको भनाइमा ‘उपहार’ दर्शकको मन मस्तिष्कमा बस्ने गरी लेखिएको र बनाइएको छ । ‘नेपाली चलचित्र नियमित हेरिरहने र कहिल्यै नेपाली चलचित्र नहेर्ने दर्शकले पनि ‘उपहार’लाई हेर्नुहुनेछ भन्नेमा हामी ढुक्क छौँ । यो चलचित्र हेर्दा आम दर्शकले नयाँ ऊर्जा पाउनुहुनेछ ।’

ज्ञानेन्द्र देउजा निर्देशित चलचित्रमा रेखा थापा, पूजा शर्मा, मुकुन भुसाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन, विनोद पौडेल, आशा भुसाल, शोभारस घिमिरे, मञ्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्यायलगायतको पनि अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu