काठमाडौं।
यही शुक्रवार रिलिज हुने नेपाली चलचित्र ‘गोर्खा वारियर’को बुधवार बेलुका काठमाडौंको कमलपोखरीस्थित बिग मूभिजमा भव्य रेड कार्पेट प्रिमियर गरिएको छ । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती, पूर्व उपप्रधान मन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र बहादुर शाही, कोसी प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राई, नेपालका लागि बेलायती राजदूत रब फेनलगायत अग्रज देखि नयाँ पुस्तका चलचित्रकर्मी, सञ्चारकर्मी तथा विभिन्न सङ्घ संस्थाका पदाधिकारीले रेड कार्पेट प्रिमियरमा सहभागी भएर यो चलचित्र हेरे ।
चलचित्रको प्रिमियर अघि रेड कार्पेट कार्यक्रम आयोजना गरिएको थियो । रेड कार्पेटमा अतिथिहरूलाई ब्यान्ड बाजासहित भव्य स्वागत गरिएको थियो । गोर्खा वारियर हेरेपछि एमाले अध्यक्ष ओलीले नेपालमा आफूले हेरेको मध्य युद्ध सम्बन्धी निकै राम्रो सिनेमा बनेको छ भने,‘यसले नेपाली कथा र विषयलाई समेटेको छ । चलचित्र भवनमा रहँदा मैले हाम्रो कथालाई पर्दामा हेर्न पाउँदा खुसी महसुस गरेँ ।’ उनले यो चलचित्रलाई नेपाल सहित अन्तर्राष्ट्रिय स्तरमा प्रदर्शन गर्न सबैले सहयोग गर्नु पर्ने अपिल समेत गरे ।
यस्तै सिनेमा हेरेपछि आफू निकै भावुक भएको बताउँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री किराँतीले भने,‘मेरो बुबा र बाजेले पनि ब्रिटिस सेना भएर मलाए सहित अन्य युद्ध लड्नु भएको थियो । सोही कारण यो चलचित्र हेर्दा मैले आफ्नो कथा जोडिएको पाएँ ।’ यो चलचित्रलाई हरेक नेपालीले हेर्नुपर्छ भन्दै मन्त्री किराँतीले अगाडि थपे,‘हाम्रो पुर्खाले लडेको युद्धसँगै वीर भनेर पाउने सम्मानका बारेमा हामी अवगत हुने मौका यो चलचित्रबाट पाउनेछौँ ।’
यो चलचित्रले नेपालीको वीरताको गाथालाई विश्वभरमा फैलाउने भनाई राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लिङ्देनले अगाडि थपे, ‘हाम्रो देश नेपाललाई सगरमाथा झैँ गोर्खालीको देश भनेर पनि चिन्ने गरिन्छ तर यस्तो विषयमा चलचित्र निर्माणको सङ्ख्या निकै कम हुनु भने दुःखद हो ।’ यस्ता ऐतिहासिक मौलिक चलचित्रलाई हामीले हेरेर हौसला प्रदान गर्नु पर्ने उनको सुझाव थियो ।
यस्तै सङ्घीय सांसद ज्ञानेन्द्र शाहीले राज्यले चलचित्रको विकाशका लागि उपयुक्त नीति नल्याएको भन्दै धेरै समयमा एक पटक बन्ने गोर्खा वारियर जस्ता ऐतिहासिक चलचित्रलाई सरकारले विशेष रूपमा सहयोग गर्नु पर्ने बताए ।
अग्रज अभिनेता हरिवंश आचार्य पनि चलचित्रको खुलेर प्रशंसा गर्दै भने ,‘आजभन्दा ८० वर्ष अघिको समाजको कथा र गोर्खालीको सेनाको गाथा निकै मार्मिकसँग यो चलचित्रमा उतारिएको छ । नेपालमा युद्ध सम्बन्धी यति राम्रो चलचित्र यस अघि कहिल्यै बनेको थिएन ।’
यो चलचित्र हेरेपछि निर्माता सङ्घका अध्यक्ष नवल खड्का, अभिनेताहरू सरोज खनाल, गजित विष्ट, प्रशान्त ताम्राकार, प्रवण भुसाल, अभिनेत्री प्रियङ्का कार्की, पल्पसा डङ्गोल, श्रद्धा क्षेत्री, गरिमा शर्मा, कलाकारहरू किरण केसी, निर्मल शर्मा, दीपक आचार्य (काकु), कुमार कट्टेल, हरिस निरौला, निर्देशक ज्ञानेन्द्र देउजा, दिवाकर भट्टराई, वितरक करण श्रेष्ठलगायतले गोर्खा वारियरको खुलेर प्रशंसा गरे ।
प्रिमियर शोमा यो चलचित्रका निर्देशक मिलन चाम्सले भने,‘मैले गोर्खाली सेना र गोर्खा वारियरबारे यस अघि धेरै पटक बोलेँ । अब यो चलचित्र हेरेर बोल्ने पालो दर्शकको भएको पनि अवगत गराउँदछु ।’ वीरताको कथा र देशभक्तिलाई केन्द्रमा राखेर तयार गरिएको चलचित्रमार्फत प्रिमियरमा पाएको प्रतिक्रियाले आफू झनै उत्साहित भएको पनि निर्देशक चाम्सले बताए । यो चलचित्र मुलुकका १२० भन्दा बढी सिनेमा हलमा शुक्रवारबाट प्रदर्शन हुने पनि चाम्सले जानकारी गराए ।
यो चलचित्रका अभिनेता रितेश चाम्सले आफू आजको दिनको प्रतीक्षामा रहेका जनाउँदै गोर्खा वारियरले उत्कृष्ट प्रतिक्रिया पाएका कारण यो चलचित्रलाई दर्शकले मन पराउनेमा ढुक्क छु भने । यस्तै अभिनेत्री रेविका गुरुङले ७५ वर्ष अघिको समाजको महिला चरित्रमा प्रस्तुत भएको जनाउँदै फिल्म हेर्दा आफ्नो भूमिकाको क्रममा दर्शक रोएको देखेर आफूले पनि आँसु थाम्न नसकेको बताइन । अर्का अभिनेता विजय लामाले यो नेपाल र नेपालीलाई चिनाउने वीरताको कथायुक्त सिनेमा भएकाले यसलाई सबैले हेर्नु पर्छ भने ।
यसका निर्माता सुमन राईले आफूलाई यो चलचित्रको कथा निर्देशक चाम्सले सुनाउँदा नै औधी मन परेकाले गोर्खा वारियर निर्माण गरेको हो भने । चलचित्र हेरेपछि धेरै राम्रो लागेको पनि उनले बताए ।
सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथा प्रस्तुत गरिएको यो चलचित्रमा यो चलचित्रमा रितेश चाम्स, रेविका गुरुङ, विजय लामा, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राई, सुरज तमु, त्रिचु राई, दिग्गज खत्री, सिद्धार्थ सिंह, सरोज खालिङ लगायतको मुख्य भूमिका रहेको छ ।
गोर्खा वारियरको निर्मातामा सुमन राई, सुस्मिता वाइबा छन् । यसको कार्यकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवम् सह निर्मातामा सुरेश राई रहेका छन् । यो चलचित्र लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो ।
यो चलचित्रको गीत शैलेन्द्र खनाल ‘शरद’ले लेखेका हुन भने सो गीतमा एलिस कार्कीको सङ्गीत, राजेश पायल राईको गायन रहेको छ । फिल्मलाई राजेन्द्र मोक्तानको रङ्ग संयोजन गरेका छन् । यो चलचित्रमा हिमाल केसीको द्वन्द्व निर्देशन, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डीओपी छ ।
फोटो ग्यालरीः