
काठमाडौं। यही फागुन १८ गते रिलिज हुने नेपाली चलचित्र ‘अगस्त्य: च्याप्टर १’ का निर्देशक सौरभ चौधरीले आफूले जीवनमा देखेका दुई घटनालाई चलचित्रमा उतारेको बताएका छन् । उनका अनुसार ती घटना लकडाउन अघिको र लकडाउनको समयमा देखिएका थिए ।
“ती दुई घटनालाई एउटै फ्रेममा राख्ने गरी स्क्रिप्टको कन्सेप्ट आएको थियो । यो चलचित्र दर्शकका लागि सिनेम्याटिक छ, उहाँहरूले अहिलेसम्म समाजमा नभनिएका कथा हाम्रो चलचित्रमा पाउनुहुनेछ”, सौरभले भने, “यो चलचित्र हेरिसकेपछि जोकोहीले पनि आफ्नो जीवनसँग जोड्न सक्छन् ।”
सौरभले आफूले अलिक फरक किसिमको कथामा काम गर्न चाहेको बताउँदै त्यो चाहना ‘अगस्त्य च्याप्टर १’ले पुरा गरेको दाबी गरे । “आजको दिनसम्म नेपाली दर्शकले राम्रो चलचित्र हेरिदिनुभएको छ । उहाँहरूले हाम्रो फिल्मलाई पनि न्याय दिनुहुनेछ भन्नेमा म ढुक्क छु । अर्को कुरा हामीले स्क्रिप्टको माग अनुसार नै यसको दोस्रो भाग निर्माणको तयारी गरिरहेका छौँ”, उनले भने ।
उनले चलचित्रको ट्रेलर र टिजर हेर्दा मधेसको कथा जस्तो देखिए पनि त्यो मधेसको कथा नभई समग्र देशको कथा रहेको बताए ।