‘आनी छोइङ डोल्मा’ को जीवनी निफको ओपनिङमा देखाइने



काठमाडौँ। नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ)को ओपनिङमा समाजसेवी तथा गायिका आनी छोइङ डोल्माको जीवनी प्रेरित डकुमेन्ट्री ‘आनी छोइङ डोल्मा: नथिङ इम्पोसिबल’ रहने भएको छ । जेनिफर लिन र सान बाई निर्देशित डकुमेन्ट्री महोत्सवको उद्घाटनसँगै देखाइने फेस्टिभल अध्यक्ष केपी पाठकले बताए ।

आनीको साङ्गीतिक यात्रा, भिक्षु जीवन र समाजसेवालाई डकुमेन्ट्रीले प्रस्तुतिको विषय बनाएको छ । तर निर्देशक लिनले डकुमेन्ट्री आनीको स्वतन्त्रताको खोजीको रूपमा केन्द्रित रहेको बताएकी छिन् ।

हङकङको सिटी युनिभर्सिटीमा आम सञ्चारकी प्राध्यापक लिनले आनीलाई ७ वर्ष पछ्याएर यो डकुमेन्ट्री तयार गरेकी हुन् । सन् २०१० मा गरिबीमा हुर्किएका बालिकाको शिक्षाको लागि आनीले स्थापना गरेको आर्यतारा स्कुलको भ्रमणपछि डकुमेन्ट्री बनाउने सोच पलाएको र यसको ५ वर्षपछि काम थालेको लिनले अन्तर्वार्तामा बताएकी छिन् ।

७ वर्ष लगाएर बनाएको डकुमेन्ट्री अहिले विश्वका फिल्म फेस्टिभलमा आकर्षणको केन्द्र रहँदै आएको छ । डकुमेन्ट्रीले गत साल वार्सा इन्टरनेसनल फिल्म फेस्टिभलमा एसियन प्यासिफिक अडियन्स अवार्ड र नेटप्याक अवार्ड जितेको थियो । 

डकुमेन्ट्री निफमा पनि माउन्ट एभरेस्ट अवार्डका लागि प्रतिस्पर्धामा रहेको छ । यो विधामा देश विदेशका १३ वटा डकुमेन्ट्री प्रतिस्पर्धामा रहेका छन् । विजेता चलचित्रले १ हजार नगद राशिको माउन्ट एभरेस्ट अवार्ड प्राप्त गर्नेछन् ।

चैत १ देखि ५ गतेसम्म चल्ने चलचित्र महोत्सवमा यो साल ४० देशका ८८ चलचित्र प्रदर्शन हुँदैछन् । प्रतिस्पर्धामा रहेका चलचित्रको प्रदर्शनसँगै महोत्सव अवधिभर चलचित्र निर्माणका विभिन्न विधासँग सम्बन्धित रहेर कार्यशाला, छलफल र अन्तर्क्रियाका कार्यक्रम पनि आयोजना गरिने पनि आयोजकले जनाएको छ  ।

महोत्सवमा प्रदर्शन हुने चलचित्र क्यूएफएक्स सिनेमाका शाखाहरू सिभिल मल, लबिम मल, भक्तपुर र छाया सेन्टरका हलमा प्रदर्शन हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu