‘कार्साङ’ अभिनेत्री छिरिङले लिइन् राष्ट्रपतिको हातबाट विश्व रेकर्डको प्रमाणपत्र



काठमाडौं।
सर्वाधिक उचाइमा नृत्यको रेकर्ड राख्दै गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराएकी कोरियोग्राफर छिरिङ शेर्पाले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’को प्रमाणपत्र लिएकी छन् । छिरिङ र जगदीश गुरुङ(जेडी तमु)ले सन् २०२२ नोभेम्बर १७ मा ५ हजार २ सय ७८ मिटरको उचाइमा सोलुखुम्बुको काला पत्थरमा कोरियोग्राफी गर्दै ‘द हाइएस्ट एल्टिच्यूड कोरियोग्राफ्ड डान्स अन ल्याण्ड (पेयर)’को रेकर्ड राखेका थिए ।

राष्ट्रपति पौडेलले शेर्पालाई प्रमाणपत्र हस्तान्तरण गर्दै उनलाई बधाई दिएका थिए । सन् २०२४ को स्प्रिङमा सगरमाथासमेत आरोहण गर्न लागेकी छिरिङलाई आरोहणको शुभकामना पनि दिएका थिए । ‘राष्ट्रपतिज्यूले एक महिलाले पाएको यो उपलब्धि देशकै लागि गर्वको कुरा रहेको बताउनुभयो’,छिरिङले भनिन्, ‘यो सम्मानले मेरो एउटा सपना पुरा भएको छ ।’

छिरिङले आफूले हिमाल आरोहणका क्रममा ज्यान गुमाएका शेर्पा समुदायप्रति समर्पित गर्दै सगरमाथा आरोहण गर्न लागेको बताइन् । दर्जन म्युजिक भिडियोमा समेत अभिनय गरिसकेकी छिरिङ शेर्पा समुदायकी पहिलो अभिनेत्री पनि हुन् । शेर्पा फिल्म ‘तिन्छेन फामा’मा अभिनय गरेकी उनले फिल्म ‘कार्साङ’ मार्फत नेपाली रजतपटमा डेब्यू गर्दै छिन् । फिल्म ‘तिन्छेन फामा’ले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबाट अवार्ड पनि पाएको थियो । उनी टेलिभिजन रियालिटी शो ‘डान्सिङ स्टार नेपाल सिजन २’को विजेतासमेत हुन् । छिरिङसँग शेर्पा समुदायको सौन्दर्य प्रतियोगिता आयोजनाको अनुभव पनि छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu