अफगान युद्धका घाइते चाम्स कसरी बने ‘गोर्खा वारिएर’का अभिनेता, कस्तो छ चलचित्रको व्यापार ?



काठमाडौं। गत फागुन ११ बाट प्रदर्शन भइरहेको चलचित्र ‘गोर्खा वारियर’को अभिनेता रितेश चाम्स मङ्गलवार सञ्चारकर्मी तथा पत्रकारमाझ एकाएक भावुक बने । चलचित्रको टिमले आयोजना गरेको ‘मिट एन्ड ग्रिट’ कार्यक्रममा पत्रकारद्वारा सोधिएको एउटा प्रश्नको जवाफमा रितेशले आफ्नो वास्तविक कथा सुनाउँदै उनीसँगै उपस्थित सबै भावुक भएका थिए ।

आफू बेलायती सेनामा भएको र अफगानिस्तानको युद्धमा बेलायतको तर्फबाट भाग लिएको घटना उनले लुकाउँदै आएका थिए । सञ्चारकर्मीको आग्रहमा उनको त्यो घटनाबारे निर्देशक मिलन चाम्सले केही खुलासा गरेपछि अभिनेता रितेश आफ्नो कथामा सुनिए ।

‘म गाउँमा सामान्य परिवारमा जन्मेको हुँ । स्कुलको पढाई सकिएपछि वैदेशिक रोजगारीमा जाने निर्णय गरेँ । मसँग अमेरिका, अस्ट्रेलिया जाने पैसा नभएका कारण बेलायती सैनिकमा भर्ती लाग्नुबाहेक अरू विकल्प थिएन, त्यसैले म बेलायती सेनामा भर्ती लागेँ ।’ उनले भने ।

बेलायती सेनामा सिपाहीको रूपमा छानिएपछि नेपालबाट बेलायत जाने क्रममा रितेशले पहिलो पटक हवाईजहाज चढ्ने अवसर पाए । त्यति बेला आकाशमा यती ठुलो जहाज उडेको देखेर उनी छक्क परे । त्यो जहाज कसरी उड्छ भनेर उनमा कौतुहलता जाग्यो र भविष्यमा आफूले पनि जहाज उडाउने सपना उनले सोही दिन साँचे ।

‘बेलायती सेनामा केही वर्ष जागिर खाएपछि मैले बिदा लिएर पाइलट कोर्स गर्ने निर्णय लिएँ र त्यो कोर्सको तयारीमा जुट्दै थिएँ । एक्कासि मलाई अफगानिस्तानको युद्धमा पठाउने निर्णय मेरो अफिसरहरूले गर्नु र त्यो निर्णयलाई मैले मान्नु बाहेक अरू  विकल्प थिएन ।’ उनले भने । त्यति बेला अफगानको युद्धमा ब्रिटिस गोर्खा सेनाका नेपालीहरूको मृत्यु र घाइतेको खबर आइरहेको थियो । 

‘हामी अफगानिस्तानको मरुभूमिमा झर्दै थियौँ, जताततै धुलो उडेको थियो । हाम्रो हेलिकोप्टरमाथि लगातार तालिबानले गोली बारुद बर्साएका थिए । हेलिकोप्टरबाट झरेर जवाफी फायर गर्ने क्रममा मेरो तिघ्रामा कति बेला गोली लाग्यो मैले वास्तै गरिन् । तिघ्रामा पालेको जस्तो लागेको थियो, एक छिनमा म रगताम्मे भएछु भने मलाई छाडेर हेलिकप्टर माथि आकाशमा उड्न थालेको थियो । तर माथिबाट एक जना अफिसरले मलाई तर लडेको देख्नु भएपछि उहाँहरूले सबैको ज्यान जोखिममा पारेर भए पनि मलाई त्यहाँबाट उद्धार गरेर हेलिकोप्टरमा लानु भएछ । म चार दिनपछि होसमा आउँदा अस्पतालको बेडमा थिएँ र मेरो एउटा खुट्टा नचल्ने अवस्थामा थियो ।’

यो सुनाउँदै गर्दा निकै भावुक हुँदै रितेशले भने,‘जब मलाई डक्टरहरूले अब तिम्रो एउटा खुट्टा चल्दैन भन्नु भयो, त्यति बेला मैले आफ्ना सबै सपनाहरू तुहिएको महसुस गरेँ । अस्पतालबाट डिस्चार्ज भएर म यस्तो डिप्रेसनमा गएँ कि मलाई सामान्य हुन तीन वर्ष लाग्यो । तर मैले हिम्मत हारिन् । सबै प्रकारको थेरापी र आत्म विश्वासका कारण तीन वर्षमा म राम्ररी हिँड्न सक्ने भएँ र सामान्य जीवनमा आएँ । त्यसपछि मैल अमेरिकाबाट पाइलटको कोर्स पुरा गरेर इन्टरनेशलन हवाई जहाज उडाउन थालेका हुँ ।’

डाक्टरले उनलाई ‘डिसेबल’को प्रमाणपत्र दिएपछि बेलायत सरकारले पनि रितेशलाई सेनाबाट सोही प्रमाणपत्रको कारण अवकाश दियो । तर रितेशले आत्म विश्वास गुमाएनन्,‘मैले आफूलाई सामान्य नागरिकझैँ प्रस्तुत गर्न तेक्वान्डो खेल्दै गएँ र आफूलाई शारीरिक एवम् मानसिक रूपमा फिट बनाएँ । अहिले म तेक्वादोमा थ्री डान बन्न सफल भएको छु । मैले सो क्रममा नेपालको ८००० मिटर माथिको हिमाल पनि चढेँ भने स्काई डाइभिङ पनि गरेँ । बेलायतबाटै अभिनयमा मास्टर डिग्री गरेपछि बल्ल म चलचित्र गोर्खा वारियरमा अभिनेता बन्न सफल भएको हुँ ।’

चलचित्र गोर्खा वारियर नै खेल्नुको कारणबारे रितेशले भने,‘मेरा हजुरबुबा पनि ब्रिटिस सेनाको सिपाही हुनुहुन्थ्यो र उहाँ मलायको युद्धमा घाइते हुनु भएको थियो । म पनि बेलायती सेना भएर अफगानिस्तानको युद्धमा घाइते भएको थिएँ । गोर्खा वारियरको कथा हजुर बुबाको, मेरो र हामीजस्ता कैयौँ वास्तविक वारियर सिपाहीहरूको कथा थियो । जसरी भए पनि यो फिल्म खेल्नु पर्छ भनेर निर्देशकज्यूले भनेका सबै प्रकारका शारीरिक तथा मानसिक अभ्यासमा पास भएर यो फिल्ममा म छानिएको हुँ ।’

आँखाबाट आँसु पुच्छै अभिनेता रितेशले भने,‘युद्धदेखि जनयुद्धसम्म गोली लागेका हजारौँ सिपाहीहरूको नेतृत्व गर्दै उहाँहरूको हौसला बढाउन पनि मैले यो फिल्म खेलेको हुँ । गोली लागेर डाक्टरले डिसेबल भनेका हामीजस्ता योद्धाले त्यसपछि पनि आफूलाई समाजमा सक्षम रूपमा प्रस्तुत गर्न सक्छन् भनेर देखाउनु पनि मेरो उद्देश्य थियो ।’ आफ्नो निजी पीडा अरूलाई किन सुनाउनु भनेर यो कुरा यस अघि लुकाएको उनले बताए । यसरी उनले आफ्नो पीडा सुनाउँदा कार्यक्रममा सञ्चारकर्मीको पनि आँखा रसाएको थियो ।

मुलुकका १२० भन्दा बढी सिनेमा हलमा प्रदर्शन भइरहेको चलचित्र गोर्खा वारियरले पाँचौँ दिन पनि राम्रो व्यापार गरिरहेको यसका निर्देशक मिलन चाम्सले सो क्रममा जानकारी गराए । वितरक व्यवस्थापक करण क्रेजीका अनुसार शुक्रवारबाट प्रदर्शनमा आएको यो चलचित्रले प्रदर्शनको ४ दिनमा १ करोड ५१ लाख रुपैयाँको व्यापार नेपालमा गरेको छ ।

सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथा प्रस्तुत गरिएको चलचित्र गोर्खा वारियरमा यो चलचित्रमा रितेश चाम्स, रेविका गुरुङ, विजय लामा, रियर राई, शिशिर बाङ्देल, कविता आले, विरुप घले, सारा राई, सुरज तमु, त्रिचु राई, दिग्गज खत्री, सिद्धार्थ सिंह, सरोज खालिङलगायतको मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu