‘सतीदेवी’ प्रति सञ्चार मन्त्रीको चासो



काठमाडौँ। लक्ष्मण सुवेदीले लेखन तथा निर्देशन गरेको नेपाली चलचित्र ‘सतीदेवी’लाई लिएर सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले चासो देखाएकी छन्। नारी संवेदनामा आधारित भएर निर्माण भएको यो चलचित्रको विषयमा बुधवार मन्त्री शर्माले निर्देशक सुवेदीसँग मन्त्रालयमा भेट गरेर फिल्मलाई शुभकामना दिँदै सहयोग गर्ने प्रतिबद्धता जनाएकी छन्। 

नेपालमा यस प्रकारका मौलिक तथा यथार्थपरक चलचित्रको निर्माणमा जोड दिन मन्त्री शर्माले आग्रह गरेको निर्देशक सुवेदीले बताए। उनले भने, “मन्त्रीज्यूले ‘सतीदेवी’ नारी प्रधान र मौलिक कथामा निर्माण भएको धेरैबाट सुन्नुभएको रहेछ । उहाँले फिल्म हेर्ने इच्छा समेत राख्नुभएको छ । चलचित्रलाई राज्यबाट विशेष सहयोग प्रदान गर्ने आश्वासन पनि दिनुभएको छ ।”

निर्देशक सुवेदीसँगको संवादमा सरकारको प्रवक्ता समेत रहेकी मन्त्री शर्माले आफू नेपाली चलचित्रको गुणस्तरीय तथा व्यावसायिक विकासको पक्षमा रहेको बताएको सुवेदीले जनाए। 

यस चलचित्रमा अभिनेत्री मलिका महतको प्रमुख भूमिका रहेको छ। यसको रिलिज मिति भने तोकिएको छैन। 

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu