कर्णाली महोत्सव शुभारम्भ गर्दै उपप्रधानमन्त्रीले भने, ‘चलचित्र ऐन मन्त्रीपरिषदमा आएकै दिन पास हुन्छ’



काठमाडौं।
उपप्रधान तथा रक्षा मन्त्री पूर्ण बहादुर खड्काले चलचित्र ऐन मन्त्रीपरिषदमा आएकै दिन पास हुने दाबी गरेका छन् । शुक्रवार काठमाडौंमा कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, २०८० को औपचारिक शुभारम्भ गर्दै मन्त्री खड्काले चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसीलाई ईँगित गर्दै भने, “तपाईँले चलचित्र ऐन मन्त्रीपरिषदमा ल्याउनुहुन्छ त्यो दिन पास गर्ने जिम्मेवारी मेरो भयो ।”

मन्त्री खड्काले अब यो भएन त्यो भएन भन्ने शब्द प्रयोग नगरी आफै लाग्ने समय आएको बताउँदै अब देशको नेतृत्व कर्णालीले गर्ने बताए । उनले भने, “कर्णाली देशको गहना हो । त्यहाँ हरेक सम्भावना छन् । नेपाली चलचित्रको विकासमा यो महोत्सव कोसे ढुङ्गा साबित हुनेछ ।” उनले यो अभियानले समग्र कर्णालीको विकास चलचित्र विकास पर्यटन विकास हुने विश्वास रहेको बताए ।

‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ भन्ने उद्देश्यका साथ शुक्रवारदेखि सुरु भएको महोत्सवको लक्ष्य कर्णालीका कथा, कला, रीतिरिवाज, भाषा, भेसभुसा, परम्परा र संस्कृतिलाई संरक्षण र प्रवर्द्धन गरी प्राकृतिक सुन्दरता, पर्यटकीय स्थल, धार्मिक स्थल तथा सम्पदाहरूलाई संसारभर चिनाउने अभियान समेत रहेको छ । साथै, नेपाली चलचित्रलाई कर्णालीमा छायाङ्कन गर्न सहज वातावरण बनाउने यसको मुख्य उद्देश्य रहेको छ ।

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले आफूले नेपाली चलचित्रको विकासका लागी सधैँ लागी परेको बताउँदै कर्णाली फिल्म महोत्सव फरक किसिमको कार्यक्रम भएकोले यसले कर्णालीको विकासका सहयोग पुग्ने बताए ।

महोत्सव उद्घाटन कार्यक्रममा विशेष अतिथि पूर्व मन्त्री कुन्ती कुमारी शाहीले कर्णाली चिनाउने महाउत्सव भएको र कर्णाली अति सुन्दर रहेको जिकिर गरिन् । कर्णाली क्षेत्र आफैमा फिल्म स्टुडियो रहेको उनले बताइन् । अभिनेत्री झरना थापा कर्णालीमा ‘ए मेरो हजुर ४’ छायाङ्कन गर्दाको अनुभव सुनाइन् । निर्माता तथा निर्देशक दिपाश्री निरौलाले आफू कर्णालीमा चलचित्र छायाङ्कनका लागी जाने प्रतिबद्धता व्यक्त महोत्सवले कर्णालीको चलचित्र विकासमा नयाँ कार्यको सुरुवात भएको बताइन् ।

कर्णालीको स्थानीय तहबाट गुराँस गापाका प्रमुख टोप बहादुर बिसिले आफ्नो पालिका क्षेत्र गुराँसको उद्गम थलो भएकाले यहाँ चलचित्र छायाङ्कनका लागी आउने मेकरलाई आफू सहयोग गर्न तयार रहेको जनाए ।

कार्यक्रममा काठमाडौं प्रहरी प्रमुख एसएसपी भूपेन्द्र खत्री, महोत्सव सल्लाहकार तथा वरिष्ठ अभिनेता श्री शिव श्रेष्ठ, कर्णाली प्रदेशका सांसद सन्तोषी शाही बाग्मती प्रदेशका सांसद सुनिल केसी, कुमारी तामाङ, नेपाल चलचित्र कलाकार सङ्घका निवर्तमान अध्यक्ष श्री रवीन्द्र खड्का, दैलेखी सेवा समाजका अध्यक्ष प्रताप शाही सहित विभिन्न कलाकार अभियन्ता लेखक निर्देशक निर्माताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । महोत्सवमा चलचित्र प्रकाश, बुलाकी, प्रेम गीत ३ लगायत चलचित्रलाई कर्णाली प्रमोसन गरेकोमा सम्मान समेत गरिएको थियो ।

महोत्सवकै दौरान कर्णालीमा चलचित्र र पर्यटन विषयमा रही विभिन्न सेसनहरू समेत भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu