चलचित्रबाट रङ्गेलीलाई चिनाउने काम गरेको भन्दै मेयर बने खुसी, भिडियोमार्फत दिए शुभकामना



काठमाडौं। यही शुक्रवार रिलिज हुने नेपाली चलचित्र ‘रङ्गेली’लाई मोरङको रङ्गेली नगरपालिकाका प्रमुख दिलीप कुमार अग्रवाल (बगडिया)ले सफलताको शुभकामना दिएका छन् । सोसल मिडियामा भिडियो पोस्ट गर्दै उनले आफूले नेतृत्व गरिरहेको नगरपालिका रङ्गेलीको नामबाट चलचित्र बनेकोमा खुसी व्यक्त गरेका छन् ।

भिडियोमा शुभकामना दिँदै उनले ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक दृष्टिकोणबाट अत्यन्तै महत्त्वपूर्ण तथा प्रचुर सम्भावना रहेको नेपाली चलचित्र ‘रङ्गेली’को भव्य सफलताको कामना गरेका छन् । साथै चलचित्र मार्फत रङ्गेलीलाई चिनाउने काम गरेकोमा निर्माण टिमलाई धन्यवाद व्यक्त गरेका छन् ।

केही दिन पहिले सोही नगरपालिकाको सहमति पत्र चाहिने भन्दै केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर) बोर्डले प्रमाणपत्र नदिएको खबर मिडियामा सार्वजनिक भएपछि व्यापक विरोध भएको थियो । यद्यपि, बोर्डले आइतबार यो चलचित्रलाई पिजी प्रमाणपत्र प्रदान गरेको छ । प्रमाणपत्र बुझेपछि यसका कार्यकारी निर्माता जीतेन्द्र खतिवडाले नामको विषयलाई लिएर पछि समस्या हुनसक्ने भन्दै नगरपालिकाको सहमति ल्याउन भनेको तर पत्र पेस नगरीकनै बोर्डले प्रमाणपत्र दिएको बताए ।

‘रङ्गेली’लाई अर्जुन सुवेदीले लेखन तथा निर्देशन गरेका छन् । यसमा दयाहाङको साथमा मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका रहेको छ । यस चलचित्रका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ ।

चलचित्रका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह-निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । छायाकार सुशन प्रजापति हुन् ।

यस्तो छ मेयरको भिडियो सन्देश:

https://fb.watch/qCAtMSb6hj/?mibextid=w8EBqM

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu