चलचित्र विकास बोर्डद्वारा सात महिला चलचित्रकर्मी सम्मानित



काठमाडौं। अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपाली चलचित्रमा योगदान पुर्‍याएका सात जना महिला चलचित्रकर्मीहरू सम्मानित भएका छन् । बुधवार साँझ चलचित्र विकास बोर्डद्वारा आयोजित एक कार्यक्रमका बिच सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सम्मान प्रदान गरेकी हुन् ।

अभिनेत्रीहरू केकी अधिकारी, प्रियंका कार्की, सरिता लामिछाने, निर्देशक तथा कोरियोग्राफर रेनाशा वान्तवा राई, प्राविधिक ऋतु राना, द्वन्द्व निर्देशक किरण दाहाल, पत्रकार शारदा थापालाई जनही पच्चीस हजार रुपैयाँसहित सम्मान प्रदान गरिएको हो ।

कार्यक्रममा मन्त्री शर्माले चलचित्रकर्मीमा निरन्तर क्रियाशील महिलालाई सम्मान गर्न पाउँदा खुसी लागेको बताइन् । उनले कुनै समय अभिनय गर्न घरबाट निस्किन गाह्रो हुने महिला अहिले निर्देशक, निर्मातासँगै प्राविधिक पक्षमा समेत सक्रिय रहेको देख्दा खुसी लाग्ने बताइन् ।

कार्यक्रममा मन्त्री शर्माले भनिन्, ‘अहिले छलफलमा रहेको चलचित्र ऐनले महिलालाई चलचित्र विकास बोर्ड, चलचित्र जाँच समिति लगायतमा बलियो उपस्थिति गराउने छ । त्यसले महिलालाई नेतृत्वदायी भूमिकाका लागि अवश्य तयार गर्नेछ ।’

सो कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले सञ्चार मन्त्री शर्मालाई दोस्रो कार्यकालको पहिलो कार्यक्रममा स्वागत गर्न पाएकोमा खुसी खुसी व्यक्त गरे । ‘मन्त्रीज्यूसँग हामीले धेरै कार्य योजना निर्माण गरेका थियौँ । उहाँ नै पुनः मन्त्री बनेर आउँदा बोर्डलाई सहज भएको छ । हाम्रो कार्य योजनाले छिटै मूर्तरूप पाउनेछन्’, अध्यक्ष केसी भने । मन्त्री शर्मा शपथ ग्रहण लगत्तै कार्यक्रममा सहभागी भएकी थिइन् ।

कार्यक्रममा सञ्चार मन्त्रालयका सचिव रामहरि सुवेदी, चलचित्र विकास बोर्डका सदस्यहरू रवि अधिकारी, राजु केसी, केन्द्रीय चलचित्र जाँच समितिका सदस्य ऋषिराज आचार्य, प्रथम अभिनेत्री भुवन चन्द, अभिनेत्री चैत्य देवी, करिश्मा मानन्धर, चलचित्र निर्देशक रक्षा सिंह राणा, चलचित्र प्राविधिक सङ्घका अध्यक्ष पुष्कर लामा, चलचित्र पत्रकार सङ्घका अध्यक्ष समीर बलामी लगायत सहभागी थिए ।

कार्यक्रममा चलचित्रमा नारी विषयमा दुई वटा संवाद गरी अनुभव आदान प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu