मेयर पाण्डेद्वारा ‘सतीदेवी’लाई पूर्ण सहयोगको प्रतिबद्धता



दमौली। मध्यनेपाल नगरपालिका, लमजुङका मेयर रमेशकुमार पाण्डेले चलचित्र ‘सतीदेवी’लाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। बुधवार चलचित्र ‘सतीदेवी’ को विशेष प्रदर्शनी तनहुँ, दमौलीको क्युएफएक्स सिनेमामा गरिएको थियो।

चलचित्र हेरेपछि  मेयर पाण्डेले यस चलचित्रलाई सबैले सहयोग गर्नुपर्ने बताए। मेयर पाण्डेले भने, ‘स्थानीयता, नेपालीपन, वास्तविकमा मौलिक विषयबस्तुलाई उठान गर्ने जोकोहीलाई पनि सरकार र सम्बन्धित निकायले भरपुर सहयोग गर्नुपर्छ। यस चलचित्रलाई मध्यनेपाल नगरपालिका र मेरो व्यक्तिगत तबरले समेत यथाशक्य धेरै सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्दछु।’ उनले ‘सतीदेवी’ ले उठाएको नारी पक्षको मुद्दा निकै गहन र मननीय रहेको बताउँदै आफूलाई चलचित्र निकै मन परेको प्रतिक्रिया व्यक्त गरे। 

यो चलचित्र मध्यनेपाल नगरपालिकाका विभिन्न स्थानमा छायाङ्कन गरिएको छ । चलचित्र हेरेपछि शतप्रतिशत दर्शकले उत्कृष्ट प्रतिक्रिया दिएका थिए। यस चलचित्रमा देशको मौलिक कला, संस्कृति तथा कथालाई चलचित्रको माध्यमबाट विश्वसामु पुर्‍याउने प्रयास गरिएको छ। यस चलचित्रको स्वदेश प्रदर्शन मिति चाँडै तोकिने जानकारी निर्देशक लक्ष्मण सुवेदीले दिएका छन्। यो चलचित्र सुवेदीले नै लेखेका हुन् ।

गत माघ तेस्रो साता सौराहामा सम्पन्न सौराहा दक्षिण एसियाली चलचित्र महोत्सवमा सर्वोत्कृष्ट चलचित्र र शिव रेग्मी सर्वोत्कृष्ट चलचित्र निर्देशक अवार्ड जितेको ‘सतीदेवी’ को चर्चाप्रति केही दिन अघि सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले चासो देखाएकी थिइन्। निर्देशक सुवेदी सञ्चार मन्त्रालय पुगी मन्त्री शर्मालाई आफ्नो चलचित्रबारे विस्तृत जानकारी प्रस्तुत गरेका थिए। मन्त्री शर्माले ‘सतीदेवी’ लाई सरकारी तवरबाट समेत सकेको सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेकी थिइन्।

दिलासा कृएसनले गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियासँगको सहकार्यमा निर्माण गरेको यस चलचित्रमा दिलासा, सारा र श्रीदेवी सुवेदी निर्माता रहेका छन् । मलिका महत, हर्षिका वली, मञ्जिला बानियाँ, कुलबहादुर अधिकारी, रमेश बुढाथोकी, सृजना अधिकारी, सन्दीपबाबु लोहनी, सुजीता सिवाकोटी, भोला सापकोटा, मनीषा सापकोटा, सन्देश लिम्बूलगायतका कलाकारले अभिनय गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu