
काठमाडौं। शुक्रवारबाट रिलिज हुने चलचित्र ‘उपहार’ले बिहीबार काठमाडौंमा प्रिमियर शो आयोजना गरेको छ । चलचित्र युनिटका सदस्यहरू निर्देशक ज्ञानेन्द्र देउजा, अभिनेत्री द्वय पूजा शर्मा र बेनिशा हमाल, अभिनेता त्रय मुकुन भुसाल, समर्पणजंग कार्की र तेज गिरीलगायतको उपस्थितिमा शो आयोजना भएको थियो । साथमा चलचित्रकर्मीहरूको उपस्थिति थियो ।
प्रिमियर समारोहमा उपस्थित हुन नसकेकी अभिनेत्री तथा निर्मात्री रेखा थापाले भिडियो सन्देश मार्फत सबैलाई फिल्म हेरेर प्रतिक्रिया दिन आग्रह गरिन् । ‘अब उपहार हाम्रो नभई दर्शकको भएको छ । चलचित्र हेरेर कस्तो लाग्छ, प्रतिक्रिया दिनुहोला । हामी खुल्ला हृदयले स्वागत गर्नेछौँ’, अभिनेत्री थापाले भनिन्,‘यो चलचित्रमा नारीको सङ्घर्षसँगै सक्षमता पनि देखाइएको छ । स्वाभिमानी महिलाको कथा हो ।’
प्रिमियरमा उपस्थित अभिनेत्री केकी अधिकारी, अभिनेता विजय लामा, निर्देशक शोभित बस्नेत, सुदर्शन थापा, मोडल उषा उप्रेती, निर्देशक कृषा चौलागाई, दिवाकर भट्टराईले फिल्मको कथाले मन छोएको बताए । त्यस्तै माता सबिता आचार्य, सङ्गीतकार अर्जुन पोखरेल, कलाकार शिवहरि पौडेल, लेखक प्रदीप भारद्वाजलगायतले चलचित्र राम्रो बनेको प्रतिक्रिया दिए ।
रेखा फिल्मस् र कपनगढी सिनेमा प्रालिको ब्यानरमा रेखा थापा प्रस्तुत कर्ता रहेको फिल्ममा ज्ञानेन्द्र देउजाको निर्देशन छ । यसमा रेखा थापा, पूजा शर्मा, मुकुन भुसाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन, विनोद पौडेल, आशा भुसाल, शोभारस घिमिरे, मञ्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्यायलगायतको अभिनय छ ।
बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतीक र समीक्षा देउजा हुन् । फिल्ममा विष्णु कल्पित घिमिरेको छायाङ्कन, अर्जुन पोखरेल र बाबुल गिरीको सङ्गीत, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यु निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ ।