पर्याप्त र उपयुक्त समयमा शो नदिएको भन्दै हलबाट उतारियो ‘काँडेतार’



काठमाडौं। यही शुक्रवार रिलिज भएको नेपाली चलचित्र ‘काँडेतार’लाई हलबाट उतार्ने निर्णय भएको छ । चलचित्रका निर्देशक नवल खड्काले निर्मातासहित पत्रकार सम्मेलन गरी आइतवरदेखि नेपालभर हलबाट चलचित्र उतार्ने निर्णय गरेको जानकारी दिए ।

हलहरूले पर्याप्त र उपयुक्त समयमा शो उपलब्ध नगराएको भन्दै खड्काले आफ्नो चलचित्र माथि सङ्गठित गिरोह खनिएको आरोप लगाए । उनले भने, “हिन्दी चलचित्र (सैतान)लाई ११५ वटा शोज उपलब्ध गराइएको छ । अङ्ग्रेजी (कुङ्ग फु पाण्डा ४)लाई ७० शोज उपलब्ध गराइएको छ । चलचित्रको शोजमा ‘प्राइम टाइम’ अति महत्त्वपूर्ण मानिन्छ । यही समयमा दर्शकहरू फिल्म हेर्न निस्कन्छन् । ‘काँडेतार’लाई यस्तो ‘प्राइम टाइम’ उपलब्ध गराइएन ।”

निर्माता खड्काले देशभक्ति चलचित्र बनाएर के आफूले अपराध गरेको हो भनेर समेत प्रश्न गरेका छन् । उनी भन्छन्, “के देशभक्ति कथामा बनेको फिल्म, फिल्म नै होइन ? व्यवहारमा यस्तै देखियो । यसको जवाफ हामीलाई सम्बन्धित सरोकारवालाले दिनै पर्छ । यसरी देशभक्ति फिल्ममाथिको भद्दा मजाक सह्य छैन ।” ‘काँडेतार’ले सीमा क्षेत्रमा काँडेतार लगाउनुपर्छ भन्ने विषय उठाएको छ ।

हलहरूले उचित शोज र ‘प्राइम टाइम’ शोज नदिएको भन्दै गत वर्ष फिल्म ‘राधा’ले पनि रिलिज रोकेको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu