‘पुजार सार्की’मा मैत बहादुर बने प्रदीप, जन्मदिनमा पात्र परिचय दिने फोटो सार्वजनिक



पोखरा। यति बेला अभिनेता त्रय आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले एकसाथ अभिनय गरिरहेको चलचित्र ‘पुजार सार्की’को छायाङ्कन चलिरहेको छ । यसैबिच अभिनेता प्रदीप खड्काको आइतबार जन्मदिन परेको छ । उनको जन्मदिनको शुभ अवसर पार्दै चलचित्रमा उनको भूमिकाको पात्र परिचय गराइएको छ ।

निर्देशक दिनेश राउतले उनले नाम ‘मैत बहादुर’ रहेको जनाउँदै पात्र परिचय दिने दुई वटा फोटो सार्वजनिक गरेका छन् । फोटोमा खड्का लामो कपाल पालेका, कालो टोपी पछाडि ढल्काएर लगाएका र पञ्चेबाजामा प्रयोग हुने प्रमुख बाजा ‘दमाहा’ बजाउँदै गरेको देखिएका छन् । फोटोले उनी बाजा बजाउने पात्रको रूपमा परिचय दिएको छ ।

निर्देशक राउतले यो चलचित्रलाई जातीय विभेद विरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा सङ्घर्षको कथा रहेको बताएका छन् । तर, निर्देशकले मैत बहादुरको थर भने खुलाएका छैनन् । यसको अर्थ प्रदीपले निभाएको चरित्र पहिचानको सङ्घर्षमा रहेको हुनसक्ने अनुमान गर्न सकिन्छ ।

यो चलचित्रलाई विकास सुवेदीले लेखेका छन् । यसअघि विकास र दिनेशले चलचित्र ‘प्रकाश’मा सहकार्य गरेका थिए । महत्त्वाकाङ्क्षी चलचित्र ‘पुजार सार्की’को कास्की जिल्लाको कास्कीकोमा छायाङ्कन भइरहेको छ ।

यस चलचित्रमा अभिनेत्री द्वय अन्जना बराइली र परीक्षा लिम्बुले पनि प्रमुख भूमिकामा अभिनय गर्दैछन् । बराइलीले यसअघि चलचित्र ‘महापुरुष’मा अभिनय गरेकी थिइन् । परिक्षाले ‘जारी’ र ‘छक्का पन्जा ४’मा अभिनय गरेकी छन् । साथमा, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको अभिनय रहनेछ ।

दर्शकको रोजाइका तीन स्टारहरू एकसाथ चलचित्रमा आउन लागेको खबर बाहिरिएदेखि नै ‘पुजार सार्की’ चर्चामा रहँदै आएको छ । यो चलचित्रले दर्शकमा छोड्ने छाप पनि स्मरणीय हुने अपेक्षा गरिएको छ । ‘प्रसाद’, ‘क्लासिक’, ‘नोभेम्बर रेन’, ‘प्रकाश’ लगायतका सफल चलचित्रका निर्देशक राउतले हालसम्म दर्शकलाई निराश बनाएका छैनन् । उनले यस चलचित्रलाई विषयगत र व्यापारिक दुवै दृष्टिकोणबाट ब्लकबस्टर बनाउन घनिभूत लागेका छन् ।

चलचित्रलाई सङ्गीतकार सुवास भुसालले निर्माण गर्दैछन्  । एक दर्जन चलचित्रमा सङ्गीत दिएका भुसालले पहिलो पटक चलचित्र निर्माण गर्न लागेका हुन् । भुसालले सङ्गीत गरेको सुपर हिट गीत ‘लै लै’ र ‘बनकी चरी’ दिनेशले निर्देशन गरेको चलचित्र ‘प्रसाद’मा समावेश थिए भने अर्को सुपर हिट गीत ‘जिन्दगीको के छ र भर’ दिनेशकै चलचित्र ‘सेल्फी किङ्ग’मा समावेश थियो । यस चलचित्रमा पनि भुसाल आफैले सङ्गीत तयार गरेका छन् । हर्क साउद, बि. पाण्डे, दिनेश राउत र गणेश शाहीले यसका गीत रचना गरेका छन् । प्रकाश सपूत, शान्ति श्री परियार र केतन क्षेत्रीले गीतमा स्वर दिएका छन् ।

राजेश श्रेष्ठको डिओपी रहने ‘पुजार सार्की’लाई सुप्रिम पराजुलीले सम्पादन तथा कलर ग्रेडिङ गर्नेछन् भने साउण्ड डिजाइन उत्तम न्यौपाने, ब्याकराउण्ड स्कोर शैलेश श्रेष्ठ, कस्ट्युम डिजाइन आशिष पौडेल,  प्रोडक्शन डिजाइन कसम नेपाल, प्रोडक्शन कन्ट्रोल मनोज जोशी र प्रोडक्शन व्यवस्थापन विदुर मानन्धरले गर्नेछन् । 

हिमाल केसीले द्वन्द्व निर्देशन गर्ने ‘पुजार सार्की’का मुख्य सहायक निर्देशक दिनेश बहादुर रावत हुन् भने राजेश राज गिरी, तर्क राज न्यौपाने र आयुष दाहाल सहायक निर्देशक रहेका छन् । यसका कला निर्देशक दिनेश लामा (गैँडा) हुन् भने माधव प्रसाद पाण्डेको मेकअप र प्रिया रोक्काको मेकअप रहनेछ । यो चलचित्र किङ्गडम नेटवर्कको ब्यानरमा बन्नेछ भने आरआर फिल्मसले वितरण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu