राजेश हमालले केपी ओलीसँग संवाद गर्ने 



काठमाडौं। अभिनेता राजेश हमालले पूर्व प्रधानमन्त्री केपी ओलीसँग सिनेमा संवाद गर्ने भएका छन् । नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ)को सातौँ संस्करणमा फिल्मका विविध आयाम र विधालाई समेटेर हुने छलफल र अन्तर्क्रियामध्ये एउटा सेसनमा दिग्गज नेता र अभिनेता संवाद गर्ने भएका हुन् । 

सिनेमा संवाद शीर्षकमा हुने छलफल उद्घाटनको दोस्रो दिन अर्थात् शुक्रवार ११ बजेदेखि सुरु भएर १ बजे सकिने आयोजकले जानकारी गराएको छ ।  दुईबिचको संवाद राष्ट्रिय सभागृहको हलमा निःशुल्क अवलोकन गर्न पाइनेछ ।

चैतको १ गतेदेखि सुरु भएर ५ गतेसम्म चल्ने महोत्सवमा निर्देशन शिल्प, नेपाली चलचित्रको बजार, चलचित्र समीक्षा र एआई को भविष्यसम्मका विषयमा छलफल हुने फेस्टिभल अध्यक्ष केपी पाठकले जानकारी गराएका छन् । 

महोत्सवमा प्रकाश सुवेदीले निर्देशक हराएको सूचना शीर्षकमा रामबाबु गुरुङ, झरना थापा र दीपकराज गिरीसँग संवाद गर्नेछन् भने नम्रता शर्माले चलचित्रमा लैङिक असमानताले पारेको प्रभावका बारेमा अभिनेत्री रीमा विश्वकर्मा, गायिका आनी छोइङ डोल्मा आदिसँग कुरा गर्नेछिन् । बिहीबार सुरु भएर सोमबार समापन हुने महोत्सवमा दुवै छलफलका कार्यक्रम आइतबार पर्यटनको बोर्डको हलमा हुनेछन् ।

छलफलका शृङ्खला अन्तर्गत नै शनिवार प्रविधि विज्ञ तथा गीतकार करुण थापाले एआईका कारण भविष्यमा फिल्म निर्माणमा पर्न सक्ने असरका बारेमा एकल प्रस्तुति दिनेछन् भने शनिवार नै फिल्म समीक्षक प्रभाकार गौतमले केकी अधिकारी, प्रदीप भट्टराई र सम्पादक केपी ढुङ्गानासँग समीक्षा ताली कि गाली शीर्षकमा बहस चलाउनेछन् । 

शुक्रवार भने चलचित्र पत्रकार रघुनाथ सापकोटाले सिनेमाका नयाँ बजार र अवसरहरू शीर्षकमा दिनेश डिसी, जितु नेपाल, पुष्पलता न्यौपाने र जनक तामाङसँग छलफल चलाउनेछन् । सबै सेसनहरू पर्यटन बोर्डमा सञ्चालन हुने छन् भने विभिन्न सामाजिक सञ्जालहरू बाट प्रत्यक्ष प्रसारण हुने छ ।

विश्व चर्चित गायिका आनी छोइङ डोल्माको जीवनी प्रेरित डकुमेन्ट्री ‘आनी छोइङ डोल्मा नथिङ इम्पोसिबल’को प्रदर्शनसँगै यो सालको निफ सुरु गरिने कार्यक्रम रहेको छ । महोत्सवको उद्घाटन सुनधारास्थित सिभिल मलमा हुनेछ भने समापन राष्ट्रिय सभा गृहमा गरिने आयोजकले जनाएको छ । यो सालको संस्करणमा ४० देशका ८८ फिल्म देखाइने छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu