‘जात्रा’ समुदायकी सम्पू अर्थात् वर्षा राउत, प्रेमी देखि आमासम्म



काठमाडौं। जात्रा चलचित्रको समुदायमा सम्पदा (सम्पू) नामबाट परिचित छन् अभिनेत्री वर्षा राउत । उनले जात्रा भित्रको पात्र फडिन्द्र (विपिन कार्की)सँग दुःख सुख जीवन काटिरहेकी छन् । सम्पू असल र इमान्दार महिला हुन् । फडिन्द्रसँग प्रेम विवाह गरेकी सम्पूलाई फडिन्द्रको इमानदारिताले आकर्षित गरेको थियो । समय क्रममा फडिन्द्र विभिन्न जालमा पर्दै जाँदा पनि सम्पूले हार खाएकी छैनन् ।

जात्राको तेस्रो सिरिज ‘महाजात्रा’मा आइपुग्दा सम्पू अझै सङ्घर्षशील महिला बनेकी छन् । एक छोरा र श्रीमानसहितको परिवारमा छोरी पनि थपिएसँगै अहिले अरूको घरमा गएर काम गर्ने, आम्दानी बढाउन मेहनत गर्ने गृहिणी बनेकी उनी परिवारको लागि सङ्घर्ष गरिरहेकी छन् । सम्पूको चरित्रलाई दर्शकले स्वीकारेका छन्, जस कारण पनि निर्देशक प्रदीप भट्टराईले वर्षालाई जात्राका सबै सिरिजमा छोडेका छैनन् । 

‘महाजात्रा’को दृश्यमा वर्षा र विपिन

अभिनयका पारङ्गत अभिनेता विपिनले पनि फडिन्द्रको भूमिकाबाट परिचय नै बदलेका छन् । म्युजिक भिडियोमा अभिनय गरिरहेकी आफूले थिएटरका अभिनेता विपिन कार्कीसँग काम गर्दा वर्षा सुरुमा अलमल थिइन् । उनी भन्छिन्, “सुरुमा मैले पनि कसरी काम गर्ने होला ? भन्ने नसोचेकी होइन । तर, फिल्मको लागि भेटघाट भयो । हामीले वर्कसप गर्‍यौँ । प्रेम विवाह गरेको क्यारेक्टर भएकाले हामी बिचमा कुराहरू शेयर गर्न लजाउनु हुँदैन भनेर त्यही अनुसार वर्कसप गर्‍यौँ । त्यसले गर्दा मलाई सेटमा निकै सहज भयो ।” वर्षाले अहिले त सबै जना फिल्मी परिवार नै भइसकेको महसुस हुने बताइन् ।

जात्राको पहिलो भागमा नै सम्पू र फडिन्द्रको प्रेम विवाह भएको थियो तर चलचित्रमा रोमान्टिक दृश्य भने निकै कम छन् । “हाम्रो प्रेम कथालाई ‘जात्रै जात्रा’मा देखाइएको थियो । यसलाई दर्शकले पनि रुचाउनुभयो । हाम्रो परिवार नै सङ्घर्षमा छ, जहाँ प्रेमसँगै अन्य विविध पाटोलाई चित्रण गर्नुपर्ने छ । फेरी मूल कथा नै जात्राको हो । त्यस कारण यसमा चाहिने जति प्रेम छ,” वर्षाले कथाको वकालत गरिन् ।

‘जात्रा’को दृश्यमा वर्षा र विपिन

सामान्यतया नेपाली अभिनेत्रीहरूले आमा बन्नुपर्ने भूमिकालाई नकार्ने गरेको देखिन्छ । वर्षा भने महाजात्रामा छोरीको आमाको भूमिकामा छन् । सधैँ प्रेममा भुल्ने चुलबुले पात्रको भूमिकामा वर्षाले अभिनय नगरेकी होइनन् । तर, आफूलाई हिरोइनमा सीमित नगरी कलाकार बन्ने सोचसहित अभिनयमा आएको कारण सबै प्रकारका भूमिकामा अभिनय गरेको वर्षाले बताइन् । उनी भन्छिन्, “मैले आफूलाई फरक भूमिकामा प्रस्तुत गर्ने सोच सहित नै आएकी थिएँ । म हिरोइन मै सीमित नभई कलाकार बन्ने सोच बोकेर आएको हुँदा पनि मलाई ती भूमिका गर्न हुन्न की भन्ने नै लागेन ।”

वर्षाको बुझाइमा ‘महाजात्रा’ पारिवारिक र सामाजिक चलचित्र हो । उनका अनुसार यसमा हामीले देखिरहने घटनालाई यसमा रमाइलो शैलीमा प्रस्तुत गरिएको छ, जहाँ परिवार, मित्रता र समाजको जात्रा छ । भिन्न तीन पृष्ठभूमिबाट आएका पात्रले सिङ्गो नेपालको प्रतिनिधित्व गर्छन् । वर्षाले यसलाई स-परिवार हेर्नुपर्ने चलचित्र दाबी गर्छिन् ।

‘जात्रै जात्रा’को दृश्य

आगामी चैत ९ गते रिलिज हुने ‘महाजात्रा’ चलचित्र ‘जात्रा’ र ‘जात्रै जात्रा’ को तेस्रो सिरिज हो । जसमा जीवनलाई समृद्ध बनाउने सपना र आपत्ति कालमा पैसा व्यवस्थापन गर्ने अवसरको समस्या प्रस्तुत गरिएको छ ।

यसमा हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्र झा, रवीन्द्रसिंह, वर्षा राउत, राजाराम पौडेल, अर्जुनजंग शाही, शिशिर वाङ्देल, मोहन निरौला, पुष्कर गुरुङ, प्रकाश घिमिरे, गौमाया गुरुङ, दिव्य देव, रजनी गुरुङ, सुमन कार्की, प्रवीण खतिवडा, अर्बिन खड्का, अवन राज उप्रेती, घनश्याम जोशी, रमा थपलिया, सिद्धिका चौहान, कायरा कार्की लगायतको अभिनय रहेको छ । यो चलचित्र षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भएको हो र प्रदीप भट्टराईले यसको लेखन तथा निर्देशन गरेका छन् । यस चलचित्रका निर्माता म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu