चलचित्र प्रेमी मेयर हर्क साम्पाङ



धरान। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ (हर्कराज राई) गायक पनि हुन् । उनी दलीय राजनीतिमा नलागी स्वतन्त्र रूपमा धरान जस्तो आकर्षक उपमहानगरपालिकाको प्रमुख बने । मेयरमा लडिरहँदा चुनाव प्रचारको लागि उनले भूईँमान्छेहरूका गीत गाए, भूईँमान्छेहरूका समस्यालाई सम्बोधन गर्ने वाचा गरे । विभिन्न स्वार्थले लिप्त दलहरू पाखा लगाई उनले मेयर जिते ।

उनले धेरै गफ हाँक्दैनन् । उनले श्रमदानमा बढी विश्वास गर्छन् । उनलाई भेट्न धरान पुग्ने प्रायःले उनका विभिन्न परियोजनामा श्रमदान गर्छन् । पछिल्लो समय चलचित्र ‘गोर्खा वारियर’को टिमले समेत श्रमदान गरेको थियो । केही समय अगाडी चलचित्र ‘ह्यारी की प्यारी’ टिमबाट नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता जीतु नेपालसहितको टिमले रुद्राक्ष प्रदान गरेको थियो । सो समयमा चलचित्र टिमले बृक्षारोपणमा सहयोग गरेको थियो ।

चलचित्र ‘ह्यारी की प्यारी’ टिमसँग हर्क

उनले नेपाली चलचित्रलाई बढी चासो दिने गरेको देखिएको छ । गत महिना मात्र उनले नेपाली चलचित्र ‘खजुरे ब्रो’मा अभिनय गरे । उनले सो चलचित्रमा छोटो भूमिका निभाए । त्यस्तै, आफ्नै नगर धरानमा भएको चलचित्र ‘गोर्खा वारियर’को प्रिमियरमा सहभागी भए । त्यहाँ उनले नेपाली चलचित्र र हाम्रा आफ्नै कथाहरूको खुब वर्णन गरे । हरेक नेपालीलाई सो चलचित्र हेर्न आह्वान समेत गरे ।

चलचित्र ‘गोर्खा वारियर’को प्रिमियर अगाडी निकालिएको र्‍यालीमा हर्क

पछिल्लो क्रममा बुधवार उनले नेपाली चलचित्रलाई झन्डै २ घण्टा समय दिए । चैत्र ९ गते रिलिज हुन लागेको नेपाली चलचित्र ‘महाजात्रा’ले आयोजना गरेको एक कार्यक्रममा वक्ताको रूपमा सहभागी भए । ‘महाजात्रासँग स्थानीय सरकार : सिनेमा संवाद कार्यक्रममा नगरप्रमुख साम्पाङले आउँदो वर्षदेखि चलचित्र क्षेत्रको लागि धरान उपमहानगरपालिकाले बजेट विनियोजन गर्ने बताए ।

सो क्रममा उनले धरानमा रहेका फिल्म छायाङ्कन स्थललाई प्रचार गर्ने योजना सुनाए । उनले नेपाली कला, संस्कृति र चलचित्रको बारेमा आफू गम्भीर रहेको जिकिर गरे । उनले चलचित्रको लागि धरानलाई प्रमुख गन्तव्य बनाउने जनाए ।

चलचित्र ‘महाजात्रा’को संवादपछि हर्क

महाजात्राको तर्फबाट हर्कलाई चलचित्रको नामाङ्कित टिसर्ट र श्रमको प्रतीकस्वरूप बेल्चा प्रदान गरिएको थियो । सो अवसरमा वरिष्ठ कलाकार हरिवंश आचार्य, अभिनेता विपिन कार्की, अभिनेत्री वर्षा राउत, अभिनेता रवीन्द्रसिंह बानियाँ, अभिनेता रवीन्द्र झालगायतको उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu