काठमाडौं। काठमाडौंको सुनधारास्थित सिडिसी सिनेमा हलमा नेपाल-युरोपियन युनियन फिल्म फेस्टिभलको १३ औँ संस्करण आयोजना हुने भएको छ । ‘युरोपियन युनियन–नेपाल सम्बन्धको ५० वर्ष : सांस्कृतिक विविधताको उत्सव’ नारासहित हुने महोत्सव चैत ७ देखि १० गतेसम्म चल्नेछ ।
शुक्रवार ईयूको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नेपालका लागि ईयू प्रतिनिधिमण्डलकी उपप्रमुख डा. जोएल हिभोनेटले महोत्सवबारे जानकारी गराइन् । “युरोपियन युनियन-नेपाल कूटनीतिक सम्बन्धको ५० वर्ष पूरा भएको अवसरमा काठमाडौं, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका नेपाली दर्शकहरूसँग युरोपको विविध संस्कृति, जीवनशैली र सिनेमाटिक सृजनशीलता साट्न पाउँदा म खुसी छु,” उनले भनिन् ।

यो महोत्सवमा सहभागी चलचित्रहरू अप्रिल १० र ११ गते सुदूरपश्चिम विश्वविद्यालयको हलमा समेत प्रदर्शन हुने बताइएको छ । त्यस्तै, नेपालगन्जमा अप्रिल महिनामा र कर्णाली प्रदेशको सुर्खेतमा १९ र २० अप्रिल प्रदर्शन हुनेछन् ।
महोत्सवको ओपनिङ चलचित्र मार्टिन म्याकडोनागले निर्देशन गरेको अस्कर मनोनित ‘द ब्यानसिस अफ इनीसेरिन’ रहनेछ । महोत्सव अवधिभर नौ युरोपेली र एघार नेपाली चलचित्र प्रदर्शन हुनेछन् । जसमा, युरोपबाट ‘द ब्यानसिस अफ इनीसेरिन’सहित मेरियन ब्लिचर निर्देशित मिस भिर्बोग (डेनमार्क), इम्यानुएल परभु निर्देशित मिकादो (रोमानिया, चेज रिपब्लिक), पिलर पालोमेरो निर्देशित स्कुल गर्ल्स (स्पेन), एन्टोनियो लुकीच निर्देशित लक्जेम्बर्ग लक्जेम्बर्ग (युक्रेन), इभान ओस्ट्रोचोभ्स्की निर्देशित सरभेन्ट्स (चेज रिपब्लिक, आयरल्याण्ड, रोमानीया, स्लोभाकीया), भिक्टर बोजिनोभल निर्देशित द नेकेड ट्रुथ अवाउट झिगुली ब्याण्ड (बुल्गेरिया), जाइदा बरग्रोथ निर्देशित टोभ (फिनल्याण्ड) रोड्रिगो सोरोगोएन निर्देशित द बीस्ट (स्पेन) तथा नेपालबाट शान्ता नेपालीको डाय ड्रिम्ससहित गोपाल आचार्य निर्देशित डिभिनेसन (आखत), समाल बज्राचार्य निर्देशित हावाम्यान, निमा गेलु शेर्पा निर्देशित काठमाडौं मनसुन, अतिन श्रेष्ठ निर्देशित मखमली उडान, रजिन महर्जन निर्देशित लेट्स टक् पिरियड, मिराज रोशन ठकुरी निर्देशित रातो पछ्यौरी, आकाङ्क्षा कार्की निर्देशित सनाई, स्वोयन मास्के मानन्धर निर्देशित द बुल, द काउ, द काल्फ, सन्तोष दाहाल निर्देशित द मिराज र अनिल कुर्मी निर्देशित रिल रहेका छन् ।
यो महोत्सवका लागि नेपाली लघु चलचित्र प्रतिस्पर्धा आह्वान गरिएको थियो । यसका विजेता निर्देशकहरु ब्रसेल्समा हुने नेपाली चलचित्र महोत्सवमा सहभागी हुन पाउनेछन् । यो महोत्सवमा ‘फिल्म क्रिटिक्स कम्पिटिसन’पनि आयोजना हुनेछ । यसमा विजेता पनि यसै वर्ष ब्रसेल्समा आयोजना हुने नेपाली चलचित्र महोत्सवमा सहभागी हुन पाउनेछन् ।
नेपाली अभिनेत्री उपासना सिंह ठकुरी यस वर्षको नेपाल-युरोपियन युनियन फिल्म फेस्टिभलको ब्रान्ड एम्बेसडर हुन् ।