काठमाडौंमा ‘महाजात्रा’को भव्य प्रिमियर, चलचित्र हेरेपछि कसले के भने ?



काठमाडौं। चैत्र ९ गते रिलिज हुने नेपाली चलचित्र ‘महाजात्रा’को प्रिमियर गरिएको छ । रिलिजको तीन दिन अगावै मङ्गलवार साँझ काठमाडौंमा आयोजित प्रिमियर शो मा करिब ८ सय जनाको उपस्थिति थियो ।

यस चलचित्रका मुख्य कलाकारहरू हरिवंश आचार्य, विपिन कार्की, रविन्द्र झा, रबिन्द्र सिंह बानियाँ, दिव्य देव, राजाराम पौडेल, शिशिर वाङ्देल लगायत निर्देशक प्रदीप भट्टराई, निर्माता म्याक्स दीपेश खत्री लगायतको प्रिमियरमा उपस्थिति थियो । वरिष्ठ कलाकारहरू मदनकृष्ण श्रेष्ठ, सन्तोष पन्त, किरण केसी, अभिनेताहरू दयाहाङ राई, सुशील श्रेष्ठ, अभय बराल, अभिनेत्रीहरू केकी अधिकारी, निशा अधिकारी, ऋचा शर्मा, मोडल उषा उप्रेती, निर्देशक तथा कलाकार दीपाश्री निरौला, निर्देशकहरू सुजित बिडारी, अर्जुन सुवेदी, कुमार भट्टराई, गायक प्रकाश सपुत, विशाल भण्डारी, कमेडियनहरू हिमेश पन्त, सुन्दर खनाल, पवन भट्टराई लगायत अन्य दर्जनौँ चलचित्रकर्मीहरूले चलचित्र हेरे । साथै पत्रकार तथा अन्य विभिन्न क्षेत्रका व्यक्तिहरूले प्रिमियरमा सहभागिता जनाए ।

चलचित्रमा नेताको भूमिकामा रहेका अभिनेता हरिवंश आचार्यले चलचित्र सुरु हुनु अगाडी एक प्रकारको डर लागिरहेको तर, चलचित्र हेरेर ढुक्क भएको बताए । उनले यो चलचित्र हेर्दा दर्शकहरू खुसी हुनुभयो भन्ने लागेको जनाए ।

प्रमुख पात्र फडिन्द्र अर्थात् विपिन कार्कीले कलाकारको लागि प्रिमियर एक प्रकारको परीक्षा रहेको बताए । चलचित्र सकिएपछि प्रतिक्रिया दिँदै उनले सो परीक्षामा पास भएको बताए । “सबैबाट स्याबासी पाइएको छ । राम्रो टिमले मेहनत गरेर बनाएपछि सफल भइँदो रहेछ भन्ने महसुस भयो,” कार्कीले बताए ।

अभिनेत्री वर्षा राउतले आफ्नो अभिनयलाई धेरैले खुलेर तारिफ गरेको बताइन् । उनले भनिन्, “त्योभन्दा धेरै खुसी चलचित्र नै मन पराएकोमा भएकी छु,” ।

अर्का अभिनेता रविन्द्र झाले दर्शकले आफूलाई बधाई दिएको बताए । त्यस्तै अभिनेता तथा निर्माता रबिन्द्र सिंह बानियाँले जुन कामको लागि मेहनत भएको थियो त्यसमा सफल भएको बताए ।

यस चलचित्रका निर्देशक प्रदीप भट्टराईले विद्यार्थीको लागि नतिजा आउँदा उत्कृष्ट अङ्क आएको जस्तो लागेको बताए । उनले भने, “आज फरक फरक क्षेत्रका फरक फरक विचार भएकाहरू दर्शकहरू हुनुहुन्थ्यो । उहाँहरू सबैले तारिफ गर्दा मेरो र मेरो टिमको गर्वले छाती फुलेको छ ।”

चलचित्र हेर्न पुगेका कलाकार मदनकृष्ण श्रेष्ठले निर्देशक र कलाकारहरूको तारिफ गरे । उनले भने, “यो चलचित्र एकदम राम्रो बनेको छ । वर्तमान राजनीतिक परिस्थितिलाई उठाएर रमाइलो ढङ्गबाट सन्देश दिइएको छ ।” निर्देशक दीपा श्री निरौलाले चलचित्र रमाइलो र सन्देशमूलक बनको प्रतिक्रिया दिइन् । उनले यो चलचित्र हेर्दा दर्शकले रमाइलो मान्ने दाबी गरिन् ।

गायक प्रकाश सपुतले आफूले धेरै लामो समयपछि राम्रो चलचित्र हेर्न पाएको बताए । “कतिपय दृश्यहरूमा आफू त्यही समाजमा बसिरहेको महसुस भयो । असी प्रतिशत हाँसो छ, केही ठाउँमा आँसु पनि आउँछ । केही ठाउँमा विचारले उत्तेजित पनि बनाउँछ,” सपुतले भने ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu