
काठमाडौं। गत महिला देखि सर्लाही जिल्लाको बागमती नगरपालिका सहित विभिन्न स्थानहरूमा नेपाली चलचित्र ‘मेयर’को छायाङ्कन भइरहेको छ। बागमती नगरपालिकाका मेयर भरत थापाको जीवन सङ्घर्षमा आधारित भएर बनिरहेको यस चलचित्रको शीर्ष भूमिकामा अभिनेता खगेन्द्र लामिछानेले अभिनय गरिरहेका छन्।
यसैबिच चलचित्रका निर्देशक दीपेन्द्र के. खनालले केही तस्बिरहरू सोसल मिडियामा शेयर गरेका छन्। उनले शेयर गरेका तस्बिरहरूमा अभिनेता लामिछानेसहित हजारौँ मानिसहरूको भिड देखिएको छ। सामान्यतया भिएफएक्स प्रविधिको सहयोगमा चलचित्रमा ठुलो भिड देखाउने गरिन्छ। ‘मेयर’को छायाङ्कनमा भने वास्तविक मानिसहरू नै छायाङ्कन स्थलमा देखिएका छन्।

“यो कुनै पार्टीको आमसभा होइन यो त ‘मेयर’ चलचित्र छायाङ्कनको लागि आउनु भएको ११ हजार माया हो,” तस्बिरहरू शेयर गर्दै निर्देशक खनालले लेखेका छन्, “नेपाली चलचित्र निर्माणमा एउटा महत्त्वपूर्ण क्षण बनाइदिनु हुने सम्पूर्ण उपस्थित महानुभावहरूमा मेरो व्यक्तिगत तथा सम्पूर्ण टिम बाट हार्दिक आभार व्यक्त गर्दछु।”

यस चलचित्रमा खगेन्द्रका अलावा वर्षा राउत, अर्पण थापा, अनुप बराल, दिव्य देव, प्रकाश घिमिरे, हरिहर शर्मा, रवीन्द्र झा, रमेश बुढाथोकी, अर्विशा थापा, सन्जोग रसाइली, अशान्त शर्मा, प्रभाकर न्यौपाने, झकेन बिसी लगायतको पनि अभिनय रहेको छ। यसबाट मेयर भरत थापाकी छोरी अर्विशा थापाले डेब्यू गर्दैछिन् भने निर्देशक खनालकी छोरी सृष्टिमा खनाल र शर्मिला पाण्डे निर्माता हुन्। चलचित्रमा महेश दवाडीको पटकथा लेखन रहेको छ।