काठमाडौं। सातौँ ग्लोबल नेपाली फिल्म अवार्डको सातौँ संस्करण संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा आगामी सेप्टेम्बर २८ मा आयोजना हुने भएको छ।

यो अवार्ड सन् २०१६ मा ‘नेपाली चलचित्र गाउँदेखि विश्वसम्म’ भन्ने नारासहित सुरु भएको थियो। नेपाली चलचित्रकर्मीलाई सम्मान, पुरस्कार र प्रोत्साहन गर्ने हेतुले अवार्ड आयोजना हुँदै आएको आयोजक साझेदार संस्था नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले बताए। मल्लले अमेरिकामा नेपालबाट पुगेका धेरै कलाकारहरूको पुनर्मिलन गर्नु अवार्डको अर्को उद्देश्य रहेको बताए।
नेपाली चलचित्रको युग परिवर्तन भएको र नेपाली चलचित्रहरू पनि अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न योग्य भएकोले नेपाली चलचित्रको सफलता विदेशमा गएर मनाउनका लागि यो अवार्ड महत्त्वपूर्ण रहेको अवार्डका अध्यक्ष नवराज श्रेष्ठले बताए।