‘महाजात्रा’लाई केपि ओलीको ९.५ रेटिङ



काठमाडौं। पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले नेपाली चलचित्र ‘महाजात्रा’ हेरेका छन्। सोमबार बेलुकी काठमाडौंको सुनधारास्थित सिडिसि सिनेमामा पत्नी राधिका शाक्यसहित चलचित्र हेरेपश्चात् उनले १० नम्बर मा ९.५ रेटिङ दिएका छन्। 

ओलीले चलचित्रबाट भरपुर मनोरञ्जन लिएको बताए। उनले भने, “१० मा १० अङ्क दिन केही राजनीतिका विषयले रोक्यो, त्यस कारण ०.५ घटाएँ। चलचित्र राम्रो बन्न सन्देश दिने कथा र त्यसलाई सम्प्रेषण गर्ने अभिनय चाहिन्छ, यी दुवै पक्ष महाजात्रामा सशक्त छन्। यसले बाटो बिराएकालाई सही मार्गमा हिँड्न प्रेरणा दिन्छ”, ओलीले भने, “यसले पहिलो हाफमा मनोरञ्जन र दोस्रो हाफमा सन्देश दिएको छ। चलचित्र काल्पनिक कथामा बन्छ र राजनीति यथार्थमा चल्छ। त्यस कारण चलचित्रबाट गलत कार्यमा लागेकालाई सही बन्न प्रेरणा मिल्छ।”

ओलीसँगै एमाले नेताहरू ईश्वर पोखरेल, शङ्कर पोखरेल, प्रदीप ज्ञवाली, रघुजी पन्त, कोमल ओली लगायतका ४० जनाले महाजात्रा हेरेका थिए। मनोरञ्जनसँगै सन्देश पनि प्राप्त गरेको गायिका तथा नेत्री कोमल ओलीले बताइन्।

निर्देशक प्रदीप भट्टराई, अभिनेता हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, अरविन्द खड्का लगायतले नेताहरूलाई भेटेर धन्यवाद दिए। “दर्शकसँगै राजनीतिज्ञबाट प्राप्त गरिरहेको प्रतिक्रियाले हामीलाई ऊर्जा थपेको छ,” निर्देशक भट्टराईले भने, “हाम्रो चलचित्रलाई समय निकालेर हेर्नुका साथै उठान गरिएको विषयलाई महसुस गरिदिनु भएकोमा कृतज्ञ छौँ। यस पटक हामीले चलचित्रलाई मनोरञ्जनमै सीमित नराखी फिल्मकर्मीको दायित्व बहन गर्दै सन्देशसमेत दिएका छौँ।”

महाजात्रालाई पूर्व रानी कोमल राज्यलक्ष्मी देवी शाह र उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले समेत हेरिसकेका छन्।

‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ ले तीन दिनमा चार करोड २६ लाख रुपैयाँको ग्रस कलेक्सन गरेको छ। यो चलचित्रमा हरिवंश आचार्य, विपिन कार्की, वर्षा राउत, रवीन्द्र झा, रवीन्द्र सिंह बानियाँ, दिव्य देव, राजाराम पौडेल, शिशिर वाङ्देल, मोहन निरौला, पुष्कर गुरुङ, प्रकाश घिमिरे, गौमाया गुरुङ, दिव्य देव, रजनी गुरुङ, सुमन कार्की, प्रवीण खतिवडा, अर्बिन खड्का, अवन राज उप्रेती, घनश्याम जोशी, रमा थपलिया, सिद्धिका चौहान, कायरा कार्की लगायतको अभिनय रहेको छ।

षटकोण आर्ट्सको प्रस्तुतिमा बनेको यस चलचित्रका कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँ हुन्। निर्माता म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल हुन्। यसको स्क्रिप्ट कन्सल्टेन्ट मनोज पण्डित हुन् भने कलरिस्ट रेनिस फागो, सम्पादक मित्र डी गुरुङ, डीओपी पुरुषोत्तम प्रधान तथा ब्याकग्राउन्ड स्कोर रोहित शाक्य र शैलेश श्रेष्ठको रहेको छ। चलचित्रको पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भिमसेन र ट्राइडेन्ट कन्सेप्टले गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu