‘बोक्सीको घर’ले गर्‍यो आकर्षक व्यापार, दुई दिनमै २ करोड १५ लाख कलेक्सन



काठमाडौं। यही साता रिलिज भएको नेपाली चलचित्र ‘बोक्सीको घर’ले आकर्षक ओपनिङ गरेको छ। यस चलचित्रले रिलिजको पहिलो दुई दिनमा २ करोड १५ लाख ग्रस कलेक्सन गरेको वितरक कम्पनी टि-फल्कले फिल्मले जनाएको छ।

शुक्रवार फिल्मले ७० प्रतिशतसम्म अकुपेन्सी कायम गरेको यो चलचित्रले शनिवार सार्वजनिक बिदा रहेको कारण थप अकुपेन्सी प्राप्त गरेको थियो। देशभरका हलहरूले उल्लेख्य मात्रामा शो प्रदान गरेका थिए।

काठमाडौं सहित मोफसलका बुटवल, चितवन, धरान जस्ता ठुला सहरहरूमा यो चलचित्रले राम्रो व्यापार गरेको छ। यो चलचित्रको चर्चित गीत ‘बुझिन मैले’को चर्चासँगै चलचित्रप्रति दर्शकको चासो बढेको थियो।

चलचित्रकी निर्माता तथा प्रमुख अभिनेत्री केकी अधिकारी शुक्रवार र शनिवार दिनभर दर्शकमाझ पुगेकी थिइन्। यस चलचित्रले हाम्रो समाजमा व्याप्त कथित बोक्सीको नाममा हुने महिला हिंसाको कथा र बालविवाहका कारण निम्तिएको कहालीलाग्दो कथालाई देखाएको छ। यसको प्रमुख भूमिकामा केकीको अभिनय छ भने केकीको बाल्यावस्थाको भूमिकामा बाल कलाकार सुपला सापकोटाले अभिनय गरेकी छन्। गत बुधवार भएको प्रिमियर शो बाट बाल कलाकार सुपलाले तारिफ पाएकी छन्। उनी कलाकार भोलाराज सापकोटाकी छोरी हुन्। साथै, अर्की कलाकार सेबिता अधिकारीले पनि निकै तारिफ पाएकी छन्। सेबिताले केकीले अभिनय गरेको ‘जुना’ पात्रको आमाको भूमिका निभाएकी छन्।

यस चलचित्रमा सुलक्षण भारतीको लेखन तथा निर्देशन छ। यसमा उनी स्वयं केकीको श्रीमानको भूमिकामा प्रस्तुत छन्। रमा थपलिया, स्वेच्छा राउत, सुष्मा निरौला, सबिन बास्तोला, सेबिता अधिकारी आदिको पनि अभिनय रहेको फिल्ममा केकीका बाबु तथा निर्देशक बद्री अधिकारी निर्माता र राज घिमिरे कार्यकारी निर्माता हुन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu