‘घरज्वाइँ’ टिजरः निष्कपट मिरुना, प्रतिष्ठाको मिचाइमा दयाहाङ



काठमाडौं। असार २८ गते रिलिज हुने नेपाली चलचित्र ‘घरज्वाइँ’को टिजर सार्वजनिक भएको छ। मगर समुदाय भित्रको कथामा आधारित यस चलचित्रमा आफूले मन पराएकी युवतीलाई विवाह गर्न घरज्वाइँ बस्नुपर्ने बाध्यात्मक परिस्थिति देखाउन खोजिएको छ।

यस चलचित्रको प्रमुख भूमिकामा दयाहाङ राई र मिरुना मगर रहेका छन्। टिजर अनुसार यसमा दयाहाङ शिक्षकको भूमिकामा रहेका छन्। उनी लाहुरे हुन पनि नसक्ने र शिक्षकको जागिरले श्रीमती पाल्न नसक्ने भन्दै मिरुनाका पिताले छोरीसँग विवाह गराउन मानेका छैनन्। यदि विवाह गर्ने हो भने घरज्वाइँ नै बस्नुपर्ने सर्त उनको छ। तर, दयाहाङले आफ्नो प्रतिष्ठाको कारण घरज्वाइँको सर्त मान्न तयार छैनन्। घरबाट भने घरज्वाइँ बस्न आँट्नुपर्ने सुझाव दिन्छन्।

टिजरबाट मन परेकी युवतीसँग विवाह गर्नको लागि युवकलाई आइपरेको परिस्थिति चलचित्रमा रहेको बुझ्न सकिन्छ। टिजरभर निष्कपट देखिने मिरुना र प्रतिष्ठाको मिचाइमा रहेका दयाहाङको यो कथा रोचक हुने देखिन्छ।

पूर्वी रुकुमको तकसेरास्थित मगर गाउँमा छायाङ्कन भएको यस चलचित्रमा मगर संस्कृतिलाई देखाइने छ। चलचित्रलाई अनिल बुढाले निर्देशन गरेका छन्। चलचित्रमा दयाहाङ र मिरुनासँगै बुद्धि तामाङ, शिशिर बाङ्देल, पुष्कर गुरुङ, भोलाराज सापकोटा, खड्कबहादुर पुन, राज थापा, कविता आले, शिला आले लगायतको अभिनय पनि रहेको छ। 

जिएम मुभिज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता जनक घर्ती मगर हुन्। यसका छायाकार सुसन प्रजापति हुन् भने सम्पादक कृष्ण भण्डारी हुन्। पटकथा तथा संवाद लेखन निर्देशक बुढासहित विनोद खतिवडा र सुभाष कोइरालाले गरेका छन्। यसको नेपाल वितरक रोहित कट्टेल र रत्न श्रेष्ठ (आरआर फिल्म्स) हुन भने अन्तर्राष्ट्रिय वितरक एमएसएम इन्टरटेनमेन्ट हो।

टिजरः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu