नेपाली चलचित्र ‘रावायण’का गीत भारतमा रेकर्ड



काठमाडौं। छायाङ्कनमा रहेको नेपाली चलचित्र ‘रावायण’मा रहेका तीन वटा गीत भारतमा रेकर्ड गरिएको छ। रेकर्ड गरिएका यसका शीर्ष गीत, रोमान्टिक गीत र आइटम गीतमा भारतीय सङ्गीतकार रेवन सिंह र निरज सिंहको सङ्गीत छ।

शीर्ष गीतमा बलिउड चलचित्र ‘बजरंगी भाइजान’को ‘सेल्फी ले ले रे’, ‘फेन्टम’को ‘अफगान जलेबी’, ‘आर राजकुमार’को ‘सारी के फल से’, ‘ट्युबलाइट’को ‘नाँच मेरी जान’ र ‘उचाइँ’को ‘केटी को’ जस्ता गीतमा स्वर दिएका गायक नकासा अजीजको स्वर छ। रोमान्टिक गीतमा कुनाल गान्जावालाको स्वर छ। कुनालले बलिउड फिल्म ‘मर्डर’को ‘भिघे ओठ तेरे’, ‘पार्टनर’को ‘दुपट्टा तेरा’, ‘शीसा’को ‘यार को मेने’, ‘काल’को ‘काल धमाल’, ‘धुम’को ‘सलामे’लगायतका चर्चित गीत गाएका छन्। आइटम गीतमा गायिका सोनु कक्करको स्वर छ। उनले बलिउड चलचित्र ‘दम’ को ‘बाबु जी जरा धिरे चलो’, ‘ब्लू’को ‘ब्लू थिम’, ‘जिष्म २’ को ‘ये कसुर’, ‘क्वीन’ को ‘लण्डन’ जस्ता गीत गाएकी छन्। 

चलचित्रका निर्देशक सुदर्शन थापाले नेपालमा सङ्गीत तयार पारेर भारतमा गई गीत रेकर्ड गर्ने चलन भइरहँदा आफूले भने सबै काम भारतमा नै गरेको बताए। “अहिलेसम्म नेपालमै सङ्गीतको सबै काम सकेर भारतमा गई गीत रेकर्ड गराउने चलन थियो। तर हामीले मिक्सिङ, मास्टरिङदेखि सङ्गीतका सबै काम भारतमा नै गरेर भारतीय गायक गायिका मार्फत गीत रेकर्ड गरेका हौँ। जसले गर्दा सङ्गीतको गुणस्तर पनि उत्कृष्ट हुन्छ”, उनले भने।

यस चलचित्रमा पूजा शर्मा, पल शाह, प्रियङ्का कार्की, प्रमोद अग्रहरी, निकिता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल र प्रदीप ढकाललगायतको अभिनय छ। पलको पछिल्लो चलचित्र ‘पुजार सार्की’ जेठ १० गते रिलिज हुँदै छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu