‘पुजार सार्की’लाई देशभर २ सय ८० भन्दा धेरै शो, नेपालबाहिर ४० देशका २५० बढी सहरमा रिलिज हुँदै



काठमाडौं। भोली बिहीबार रिलिज हुने नेपाली चलचित्र ‘पुजार सार्की’ले नेपालभर उल्लेख्य शोहरू प्राप्त गरेको छ। यसले नेपालभर २८० भन्दा धेरै शोहरू प्राप्त गरेको वितरक रोहित कट्टेलले बताएका छन्।

काठमाडौं उपत्यका र उपत्यका बाहिरका सबै मल्टिप्लेक्सहरूले अपेक्षा अनुसारको सो उपलब्ध गराएको कट्टेलले बताए। बिहीबार बिहानका शोमा ‘पुजार सार्की’को बुकिङ पनि आक्रामक रहेको उनले बताए। त्यस्तै, दिउसोका सो मा पनि बुकिङको रफ्तार बढिरहेको उनले बताए।

त्यस्तै, भोलीदेखि नै विश्वभरका ४० देशका २५० बढी सहरहरूमा ‘पुजार सार्की’ रिलिज हुँदैछ।

काठमाडौंका विभिन्न स्थानहरूमा एक सय बढी दर्शकमाझ गरिएको सर्भेबाट छनोट गरी यो चलचित्र रिलिज अगावै दर्शकलाई चलचित्र देखाइएको थियो। मङ्गलवार साँझ काठमाडौंको सिडिसि सिनेमा हलमा गरिएको दर्शक विशेष शो मा सय बढी दर्शकको उपस्थिति रहेको थियो। त्यहाँ ‘पुजार सार्की’का कलाकारहरूले पनि चलचित्र हेरेका थिए। दर्शक छनोट गर्दा नेपाली चलचित्रलाई एकदमै प्रेम गर्ने, ‘पुजार सार्की’ हेर्न व्यग्र प्रतीक्षा गरिरहेका, पहिलो रोजाइमा ‘पुजार सार्की’ भएका लगायतको दृष्टिकोण राखिएको थियो।

मङ्गलवार चलचित्र हेरेका दर्शकले यो चलचित्रलाई अत्यधिक रुचाएका छन्। यी दर्शकबाट यस चलचित्रको विषय, कलाकारहरूको सशक्त अभिनय, प्रदीप खड्काको बेजोड भूमिका, आर्यन सिग्देल तथा पल शाहको फरक भूमिका तथा निर्देशकिय क्षमताको खुलेर तारिफ भएको छ।

यस चलचित्रमा दर्शकको रोजाइका तीन सुपरस्टार अभिनेताहरू आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले एकसाथ अभिनय गरेका कारण पनि दर्शकको प्रतीक्षामा रहेको छ। ट्रेलर रिलिजसँगै प्रदीपको अभिनयको प्रशंसा भइरहेको छ भने आर्यन र पलले निभाएको फरक भूमिकाको पनि चर्चा भइरहेको छ। यस चलचित्रमा अभिनेत्रीहरू अञ्जना बराइली र परीक्षा लिम्बु, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि यस चलचित्रमा अभिनय रहेको छ।

वर्ष २०८१ को लागि सर्वाधिक प्रतीक्षामा रहेको ‘पुजार सार्की’लाई दिनेश राउतले निर्देशन गरेका छन्। यो चलचित्रलाई विकास सुवेदीले लेखेका छन्। चलचित्रलाई सुवास भुसालले निर्माण गरेका हुन्। किङ्गडम नेटवर्कको ब्यानरमा बनेको यो चलचित्र नेपालमा आरआर फिल्मसले वितरण गर्दै छ भने अन्तर्राष्ट्रिय बजारमा एमएसएम इन्टरटेन्मेन्टले वितरण गर्दैछ। राजेश श्रेष्ठको डिओपी रहेको ‘पुजार सार्की’लाई भरत रेग्मीले सम्पादन तथा सुप्रिम पराजुलीले कलर ग्रेडिङ तथा हिमाल केसीले द्वन्द्व निर्देशन गरेका छन्। चलचित्रको पोस्टर डिजाइन रोयल भिमसेन र ट्राइडेन्ट कन्सेप्टले गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu