किम्फको २१औँ संस्करण २२ देशका ६० भन्दा बढी चलचित्र



काठमाडौं। ‘परिवर्तनको प्रतिध्वनि’ को नारासहित आयोजना हुन लागेको  काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को २१औँ संस्करणमा २२ देशका ६० भन्दा बढी चलचित्र सहभागी हुने भएका छन्। यो महोत्सव यही जेठ १६ देखि २० गतेसम्म प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा आयोजना हुनेछ। 

महोत्सवको उद्देश्यमाथि प्रकाश पार्दै आयोजक संस्था किम्फ फाउन्डेसनकी अध्यक्ष रम्यता लिम्बूले यो महोत्सवले आफ्ना चलचित्र र कार्यक्रमहरूको लाइन-अप मार्फत दर्शकहरूलाई मनोरञ्जन सँगै नेपाली समाजलाई असर पार्ने विषयहरूमा आलोचनात्मक संवादमा संलग्न गराउने बताइन्।

किम्फको अन्तर्राष्ट्रिय प्रतियोगिताअन्तर्गत वृत्तचित्र, आख्यान (कथानक), लघु तथा प्रयोगात्मक फिल्म समावेश छन्। यसै गरी नेपाल पानोरामा शीर्षकअन्तर्गत विगतमा जस्तै स्वदेशी प्रतिभाका रोमाञ्चक फिल्महरू प्रस्तुत हुनेछन् जसले समकालीन नेपालको कथा उजागर गर्नेछ। महोत्सव इटालियन निर्देशक ब्रान्डो क्विलिचीको ‘द टाइगर्स नेस्ट’को एसिया प्रिमियरबाट सुरु हुनेछ। नेपालमा छायाङ्कन गरिएको यो वृत्तचित्र एक युवाको कथा हो, जो बाघको बच्चालाई सिकारीबाट बचाउन देशव्यापी साहसिक यात्रामा निस्कन्छ। किम्फ २०२४ को एउटा मुख्य आकर्षण ‘एभरेस्ट रिभिजिटेड १९२४-२९२४’ शीर्षकमा चलचित्रसँगै एक शताब्दीअघिको सगरमाथा आरोहण प्रयासको दुर्लभ तस्बिरहरूको प्रदर्शनी हुनेछ। यसै गरी, नेपाल–कोरिया मित्रताको ५० औँ वर्षगाँठको उपलक्ष्यमा भाषा र संस्कृतिमा भिन्नताका बाबजुद दुई देशबिचको समानता झल्कने उल्जु माउन्टेन फिल्म फेस्टिभल कोरियाका फिल्महरूको विशेष प्रदर्शन हुनेछ।

किम्फ २०२४ को निर्णायक मण्डलमा निर्देशक/निर्माता डिना मुफ्ती (बेलायत), मानव शास्त्री डा. सुरेश ढकाल (नेपाल), चलचित्र सम्पादक रेजिना बर्त्स्की (स्वीट्जरल्यान्ड) रहेका छन्। निर्णायक मण्डलले अन्तर्राष्ट्रिय विधाका तीन फिचर आख्यान, ११ फिचर वृत्तचित्र,  सात लघु आख्यान र सात लघु वृत्तचित्र तथा नेपाल पानोरमा विधाका १३ वृत्तचित्र र १६ आख्यान मध्येबाट विजेता छनौट गर्नेछ।

अन्तर्राष्ट्रिय विधामा सर्वोत्कृष्ट फिचर वृत्तचित्रलाई १ हजार ५ सय अमेरिकी डलर, उत्कृष्ट लघु वृत्तचित्रलाई १ हजार डलर,  उत्कृष्ट फिचर कथानकलाई १ हजार ५ सय डलर र उत्कृष्ट लघु कथानकलाई १ हजार डलर पुरस्कार प्रदान गरिनेछ। नेपाल पानोरमामा सर्वोत्कृष्ट वृत्तचित्र र उत्कृष्ट कथानक चलचित्रले क्रमशः  एक लाख रुपियाँ प्राप्त गर्नेछन्। यसै गरी दर्शक पुरस्कारको राशि एक लाख रुपियाँ रहेको छ।  
किम्फले चलचित्र निर्माता, चलचित्र प्रेमी, समीक्षक, बौद्धिक जमात, पत्रकार, कलाकार र पर्वतारोहीलगायतको उपस्थितिमा अन्तरक्रियात्मक छलफल, गेस्ट लेक्चर, पुस्तक तथा फोटो प्रदर्शनी साथै प्रतिस्थापन कला प्रदर्शनी गर्नेछ।

महोत्सवमा ‘माउन्टेन्स म्याटर– अ कल फ्रम द हिमालयज’ शीर्षकको अन्तर्क्रिया र अमेरिकी दूतावासको सार्वजनिक मामिला विभागसँग को सहकार्यमा ‘वुमेन बिहाइन्ड द क्यामेरा’ शीर्षकको प्यानल छलफलको आयोजना हुनेछन्। ‘च्याम्पियनिङ योङ फिल्ममेकर्स’- ब्रिटिस काउन्सिलसँग स्क्रिनिङ, प्यानल छलफल र फिल्म निर्माणसम्बन्धी अन्तरक्रियात्मक प्रदर्शनी र कथाहरूसँग नेपाली वृत्तचित्रका लागि कट.कथा पिच हुनेछन्। स्विस एजेन्सी फर डेभलपमेन्ट एण्ड कोअपरेसन (एसडीसी) को सहयोगमा नेपाली आख्यान र गैर आख्यान परियोजनाका लागि एडिट ल्याब रहनेछ। 

‘किम्फ २०२४’ लाई स्विस एजेन्सी फर डेभलपमेन्ट एण्ड कोअपरेशन (एसडीसी), ब्रिटिश काउन्सिल, अमेरिकी दूतावास, फिल्म डेभलपमेन्ट बोर्ड (एफडीबी), नेपाल माउन्टेनरिङ एसोसिएसन (एनएमए), एमआईएलए प्रोडक्शन्स, पासाङ ल्हामु फाउन्डेसन, दया फाउन्डेसन, भ्वाइस अफ वुमन मिडिया (भाउ), समकालीन कला नेपाल फाउन्डेसन, टोनी हागन फाउन्डेसन, बागमती प्रदेश सञ्चार रजिस्ट्रारको कार्यालय, हिमालय इन्टरनेशनल माउन्टेन फिल्म अफ चाइना (एचआईएमएफ), जीआईजेड, डब्लुडब्लुएफ, आईसीआईएमओडी, नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान, नर्थ फेस नेपाल, सोनाम, केटीएम सिटीको प्रयोजन तथा सहयोग प्राप्त छ। 

गैरनाफामुखी संस्था किम्फ फाउन्डेसनद्वारा आयोजित यस महोत्सवको सह आयोजक काठमाडौं महानगरपालिका हो भने प्रवर्द्धक नेपाल पर्यटन बोर्ड रहेको छ। किम्फ इटालीको टुरिन सहरमा मुख्यालय रहेको इन्टरनेशनल एलायन्स अफ माउन्टेन फिल्म (आईएएमएफ) को सदस्य हो। आईएएमएफमा २० देशका २८ संस्थाहरू सदस्य छन्। 

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu